काठमाडौँ, १३ माघ । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
काँग्रेसले संसद विघटन विरुद्ध माघ १२ गते राजधानीमा समाजको विभिन्न क्षेत्रका नागरिकहरुले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनालाई गम्भीरतापूर्वक लिएको जनाउँदै घटनाप्रति निन्दा र भर्त्सना गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पश्चात जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “असंवैधानिक कदम विरुद्धका प्रदर्शनहरु संविधानले प्रदान गरेको अधिकार हो । शान्तिपूर्ण ढंगले गरिएको प्रदर्शनमा लाठी चार्ज, अश्रुग्याँस तथा पानीको फोहरा प्रहार हुँदा घाइते भएका सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यो बैठक सरकारले गरेको बल प्रयोगको घटनाप्रति निन्दा र भर्त्सना गर्दछ ।”
घोषित कार्यक्रमअनुसार काँग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो । यस्तै पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल समेत भएको थियो ।
यसअघि काँग्रेसले ओलीको कदमविरुद्ध पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।