माघ १९, काठमाडौं– विघटित प्रतिनिधि सभामा समानुपातिक सांसद रहेकी नेकपा प्रचण्ड–नेपाल समूहकी रामकुमारी झाँक्रीको अभिव्यक्तिको आलोचना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले केही प्रश्न उठाएकी छन्।
सोमबार सामाजिक सञ्जालमा उनले यस्ता प्रश्न उठाउँदै भनेकी छन्– झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा रहेकाहरूले यो प्रश्न सुनाइदिनू।’
उनले लेखेकी छन्
मेरी आमाले मलाई बोलाउनु भयो अनि भन्नुभयो– सबै लिडरसीपमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउँछनु। पहिलेको समयमा इन्दिरा गान्धीदेखि एँगेला मर्केलको उदाहरण दिनु भयो।
आमाको मन हो– आफ्नो घाउ देखाउनुभएन। छोरीहरूमाथि यस्तो घटनाक्रमले पारेको आहतमा मल्हम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो।
मेरो आमाको बारेमा तथानाम भन्ने थालेको लगभग २०५२–५३ देखि हो। यो सुरु गर्ने पत्रकार अहिले रिटायर्ड बरिष्ठ पत्रकार र ठूलो नागरिक अगुवा भइसके।
उनीहरूका नयाँ र नियो अवतार अहिले छन्। म त्यो बेला ११ बर्ष जतिको थिएँ। आमाले फोनमा भन्नुहुँदै थियो– म किन अभियानमा ननिस्कनु र किन घरमा लुक्नु, उनीहरूले यहि चाहेर यो सबै गर्दैछन्– म भाग्दिन।
मलाई त्यो दिन देखि नै हिम्मत प्राप्त भयो। आमाले हामीलाई आफ्नो साहस र दृढताबाट शिक्षित गर्नुभएको छ। १ महिना अघि मैले यहिँ फेसबुकमा भनेको थिएँ– अदृश्य साइबर बुलीबाट अब सडकमा नारा लाउन सुरु भयो– हामीले आवाज बुलन्द नगरे यस्तो अपराधले झन् ठूलो रुप लिन्छ। एक महिना नबित्तदै त्यहि भयो। यहाँ रामुकमारी झाँक्रीलाई आफ्नो युवा नेता मान्नेले सुनाइदिनू।
१। गल्ती सेतो सारीमा होइन, गल्ती दृष्टिकोणमा छ।
२। गलत चुनाव लडाउनु होइन, उहाँमाथि त्यसबेलाका शीर्ष नेताले गरेको व्यवाहार र बोलीमा थियो– अहिले उहाँ तपाईको शीर्ष नेता हुनुहुन्छ– सोध्नुहोस् गएर।
३। तपाई कम्युनिस्ट स्कुलिङको हो भने– सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नुपर्ने– मेरी आमा एउटा अकल्पनिय घटना सामाना गर्दै हुनुहुन्थ्यो– तपाई सेतो सारीको कुरा गर्नुहुन्छ– हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा, सेतौ भित्ता थिए। उहाँले बुवा मदन भण्डारीलाई मनपर्ने खाना, अचार बनाउन छाड्नुभयो। उहाँका स–साना छोरीहरू हामीले प्रश्न उठाएनौं, तपाई उहाँको सारीमा प्रश्न उठाउने को हो ।
हामी ९–१० बर्षकाले बुझ्यौं उहाँ दुखसँग लड्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थ्यो। तपाई महिला, ठूलो मान्छे भएर यत्ति बुझ्नु भएन ।
तपाईलाई अर्को कुरा भन्छु। दशैंमा टिका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर आउनु भयो– राष्ट्र प्रमुखको निधार खाली हुनु हुँदैन भन्ने मान्यताले गर्दा उहाँको बुढी आमाले प्रश्न गर्नु भएन, जमरा हातमा दिँदा तपाई भिड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो ।
दुखान्त विर्सन खोज्ने हरेको आ–आफ्नो बाटो हुन्छ। जुन बाटो स्वयम् त्यो व्यक्तिले पनि सेवा रोजेको होइन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन।
यदि तपाईलाई लाग्छ आफ्नो माया, आफ्नो जीवनसाथी भन्दा माथि भविष्य र महत्वकांक्षा हो भने ठाउँ साटौं। तपाई उहाँको सिन्दुर पोते, रातो सारी, हाम्रो बुवा, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् अनि तपाईलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ– लिएर जानुस्।