नेकपा प्रचण्ड–माधव समूहको आमहड्ताल : कहाँ के भयो ?

Halesi Khabar
0 Shares

काठमाडौँ, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालले देशभर जनजीवन प्रभावित बनेको छ । सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिकरुपमा नियुक्ति गरेको भन्दै नेकपाले देशव्यापी आमहड्ताल गरेको हो ।

संसदीय सुनुवाई विना नै वुधबार संवैधानिक आयोगका पदाधिकारीहरुलाई सपथ गराइएको थियो । छिटफुट घटनाबाहेक आमहड्ताल शान्तिपूर्ण रहेको छ ।

बिहिबार बिहानै गोगंबु क्षेत्रमा आज्ञात समूहले ट्याक्सी जलाएको छ । प्रहरीले कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य डा. विजय पौडेल, हितमान शाक्य, अमृता थापा लगायत १५४ नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो ।

चावहिलबाट नेकपा केन्द्रीय सदस्य कृष्ण केसी, बागबजारबाट रमेश मल्ल लगायतका नेताहरु पक्राउ परेका थिए । नेकपा नेताले दिएको जानकारी अनुसार उपत्यका विभिन्न स्थानबाट ७२ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। यस्तै तनहुँमा १६ जना नेकपा कार्यकर्ता पक्राउ परेका छन् ।

आमहड्तालको क्रममा जनकपुरको अवस्था भने गम्भिर बनेको थियो। आमहड्तालका क्रममा निस्किएको जुलुसमा प्रहरीले पछाडिबाट फायर चलाएको नेकपाले आरोप लगाएको छ । जनकपुरमा पूर्वमन्त्री रामचन्द्र झा प्रहरीको लाठी प्रहारबाट गम्भिर घाइते भएका छन् ।

झाको टाउकोमा ३ ठाउँमा चोट लागेको छ । यस्तै स्थायी कमिटी सदस्य मातृका यादव घाइते भएका छन् । जनकपुरमा नेकपाका १० जना नेता कार्यकर्ता घाइते भएका छन् भने १२ जना पक्राउ परेका छन् । जनकपुरमा भएको झडपमा २ जना प्रहरीसमेत घाइते भएका छन्। सो क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर र १२ सेल अश्रु ग्याँस प्रहार गरेको थियो

यस्तै वीरगञ्जमा रहवर अन्सारीसहित ३५ जना पक्राउ परेका छन् । हड्तालको क्रममा विहानैदेखि जिल्ला सदरमुकामहरुमा प्रदर्शन भएका थिए । राजधानीका विभिन्न स्थानमा केन्द्रीय नेताको नेतृत्वमा कार्यकर्ताहरु उत्रिएका थिए ।

हड्ताल अवलोकन गर्न नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि उपत्यकाका विभिन्न स्थानमा पुगेका थिए । उनीहरुले आफूहरुको हड्ताल रहरले नभइ बाध्यता भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया