काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हप्की दप्की नगर्न र कानुनको पालना गर्न आग्रह गर्नुभएको छ । नेकपाको प्रचण्ड–माधव समूह नियम तोड्ने, धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको उल्लेख गर्दै उहाँले अब ‘कानून मान्दिनँ’भन्ने जमाना गएको टिप्पणी गर्नुभयो ।
‘कानूनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन । पालना गर्न सिक्नुहोस् कानुनको । लोकतन्त्र भनेको कानूनको राज हो । बलमिच्याँईंको राज होइन । प्रचण्डलाई म सम्झाउन चाहन्छु’ बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भन्नुभयोे, ‘ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानुन मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्नुभएको थियो ।’
प्रचण्डले हामी यहाँ छौं भनेर अदालतलाई र निर्वाचन आयोगलाई धम्क्याएको ओलीले टिप्पणी गर्नुभयो । आमहड्ताल आह्वान गरेर प्रचण्ड माधव समूहले जनतालाई दुःख दिएको र आफूहरु चाहिँ गाडी र मोटरसाइकलबाट जनताले पाएको दुखको तमासा हेर्दै हिँडेको ओलीले आरोप लगाउनुभयो ।