प्रधानमन्त्री ओली ‘डिफेन्सिप’ भइसके : अध्यक्ष प्रचण्ड

Halesi Khabar
0 Shares

काठमाडौँ, २६ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली रक्षात्मक भइसकेको बताउनुभएको छ । माघ २३ गते आयोजित सभालाई संकेत गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले ओली रक्षात्मक भएको बताउनुभएको हो ।

माघ २३ गते ओलीले आयोजना गरेको कार्यक्रमको स्थिति बिजोग भएको भन्नुहुँदै उहाँले ओलीको पक्षमा जनता नभएको बताउनुभयो । जनता जहिले पनि अग्रगमनको पक्षमा हुने भन्नुहुँदै उहाँले प्रतिगमनको पक्षमा जनता नरहेको दोहोर्याउनुभयो ।

शिक्षकहरुको भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ओलीको सभामा उनकै सुरक्षाकर्मीले ३०–३५ सहभागी रहेको जानकारी दिएपछि अहिले डिफेन्सीप भएका छन् ।’

शिक्षक बौद्धिक हुने भएकाले ओली सधै डराउने, तर्सिने भन्दै प्रचण्डले ओलीले सधैं पार्टीमा शिक्षकलाई अघि बढाउने काममा बाधकको भूमिका खेलेको आरोप लगाउनुभयो । एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद बैठकको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अहिले आएर ओलीले म्यादी प्रहरी जसरी केन्द्रीय समितिमा भने शिक्षकलाई राखेको बताउनुभयो ।

शिक्षकहरु न्याय, सत्य र प्रगतिको पक्षमा हुने भएकाले ओली जहिले पनि शिक्षकसित डराउने गरेको उनको भनाइ छ । अहिलेको लडाई अग्रगमन र प्रतिगमनबीचकै भएको भन्दै उहाँले आफूहरु जनतासित नजिकएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया