काँग्रेस केन्द्रीय सदस्य गुरुङद्धारा सभापतिको उम्मेदवारी दिने घोषणा

Halesi Khabar
0 Shares

खोटाङ, २७ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले काँग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । नेपाल प्रेस यूनियन खोटाङले मङ्गलबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गुरुङले आगामी १४ औँ महाधिवेशन आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

केन्द्रीय सदस्य गुरुङले काँग्रेस खोटाङका पूर्वसभापति एवम् महासमिति सदस्य विष्णुकुमार राई, प्रतिनिधिसभा सदस्य हीरा गुरुङ, संविधानसभा सदस्य सरस्वती बजिमय, महासमिति सदस्य रविप्रकाश राई र जिल्ला सचिव ज्ञानेन्द्र जोशीलाई साक्षी राखेर सभापतिको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । पार्टीका कार्यकर्ता भेटघाटका लागि केहि समय अघिदेखि १ नं. प्रदेशका विभिन्न जिल्ला पुगेर खोटाङ आइपुग्नुभएका सदस्य गुरुङले केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

पार्टीभित्र एक जनाले मात्र अवसर लिइरहेको अवस्थामा सबैलाई न्यायोचित अवसर सुनिश्चितता एवम् निर्णायक तहमा पृथक–पृथक व्यक्तिको उपस्थितिका लागि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको गुरुङले बताउनुभयो । “फेरि पनि भन्छु महाधिवेशनमा म केन्द्रीय सभापति पदको उम्मेदवार हुँ”, उहाँले भन्नुभयो, “पार्टीभित्र सबैको न्योचित अवसर र पृथक–पृथक व्यक्तिबीचको प्रतिनिधित्वका लागि पार्टीको केन्द्रीय सभापतिमा मैले उम्मेदवारी दिने तयारी गरेको हुँ ।”

केन्द्रीय सदस्य गुरुङले वर्तमान प्रधानमन्त्रीलाई संविधानसभा विघटनको अधिकार नभएको बताउनुभयो । संविधानको धारा ७६ को उपधारा १ अन्तरगत नियुक्त प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको उहाँले आरोप लगाउनुभयो ।

“संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री रहिरहन नसकेमा संसद विघटनको सिफारिस गर्ने छ र ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्ने छ भनिएको छ”, सदस्य गुरुङले भन्नुभयो, “अहिलेको प्रधानमन्त्री संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त होइन । धारा ७६ को उपधारा १ अन्तरगत नियुक्त हुनुभएका प्रधानमन्त्री केपी ओलीलाई संसद विघटनको कुनै अधिकार छैन ।”

केन्द्रीय सदस्य गुरुङले नेकपा औपचारिकरुपमा विभाजित नभएसम्म र दुईवटा चुनाव चिन्ह प्राप्त नगरेसम्म संसद विघटन विरुद्धको आन्दोलनमा काँग्रेस एक्लै जानेसमेत बताउनुभयो । नेकपाले बैधानिकरुपमा दुईवटा निर्वाचन चिन्ह पाएपछि मात्र असंवैधानिक कदम विरुद्धको आन्दोलनको स्वरुपका विषयमा आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समूहसँग छलफल हुने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया