काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गर्नुभएको छ । मंगलबार आयोगको कार्यालय पुग्नुभएका प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीको बारेमा जानकारी लिनुभएको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले गरेको तयारीको विषय, सुरक्षाको बन्दोबस्ति र बजेटबारे प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आयोगको तयारी सन्तोषजनक रहेको बताउँदै निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन सुझाव दिनुभएको छ ।
दलको विवादको सम्बन्धमा खास छलफल नभएको सल्लाहकार थापाले बताउनुभयो । दलको विवादबारे माघ ११ गते आयोगले एउटा निर्णय गरेको र माघ २० गते अर्को निवेदन प्राप्त भएको जानकारी थपलियाले दिनुभएको थियो ।
प्रमुख निर्वाचन आयुक्त थपलियासँग प्रधानमन्त्री ओलीले निर्वाचन कानुन र अभ्यासबारे जिज्ञासा राख्नु राख्नुभएको थियो । थपलियाले तोकिएको समयमा निर्वाचन गराउन बाहेक अरु विषयमा आयोगलाई मतलव नभएको बताउनुभएको जनाइएको छ ।