निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले पार्टी विवादको विषयमा केही बोलेनन्

Halesi Khabar
0 Shares

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग गएका छन् । निर्वाचन आयोगले तयारी गरिरहेको निर्वाचनको अवस्था बुझ्न र जानकारी लिन प्रधानमन्त्री ओली सरकारको तर्फबाट निर्वाचन आयोग गएको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीसित उपप्रधानमन्त्री ईश्वार पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री लिला श्रेष्ठ तथा संसदीय दलको उपनेता सुवास नेम्वाङ निर्वाचन आयोग पुग्नुभएको थियो । तर, यसरी निर्वाचन आयोग पुगेको प्रधानमन्त्रीले आफ्नो पार्टी विवादको विषयमा कुनै कुरा नउठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको तयारीको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको श्रेष्ठले बताउनुभयो । थपलियाले निर्वाचनको लागि आर्थिक समस्या लगायत अन्य समस्याको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गर्नुभएको छ । सरकारले निर्वाचनको तिथि मिति घोषणा गरिसकेको अवस्थामा आयोगले के गरिरहेको छ ?, तयारी कस्तो अवस्थामा छ ?, भन्ने विषयमा बुझ्नको लागि सरकारको तर्फबाट प्रधानमन्त्रीसहित मन्त्रीहरु निर्वाचन आयोगमा आएको प्रधानमन्त्रीको प्रेस संयोजक थापाले जानकारी दिनुभयो ।

थपलियाले प्रचण्ड–नेपाल समूह आफू आधिकारी भएको निवेदन लिएर निर्वाचन आयोग आएको प्रधानमन्त्रीलाई जानकारी दिएको संयोजक थापाले बताउनुभयो । थापाकाअनुसार थपलियाले प्रचण्ड–माधवको निवेदनको जानकारी गराउँदा प्रधानमन्त्री ओलीले निर्वाचनको पहिले नजिरहरुको विषयमा जानकारी लिनुभएको थियो ।

सत्तारुढ दल दुई समूहमा विभाजित रहेको र अहिले आधिकारिकता को हो भन्ने विवाद निर्वाचन आयोगमा रहेको छ । देशको प्रमुख पार्टी भित्र विवाद भइरहेको अवस्थामा त्यही पार्टीको एउटा अध्यक्षले आफ्नो पार्टीको विवादलाई बेवस्था गर्दै निर्वाचन गर्न आयोगलाई दवाव दिइरहेको छ ।

देशको प्रमुख पार्टीमा आधिकारिकता विवाद भइरहेको बेलामा त्यही पार्टीको एउटा अध्यक्षले पार्टी विवादलाई बेवास्था गर्नु र बिना आधिकारिकता चुनाव गर्न खोज्नुले तोकिएको मितिमा चुनाव हुन्छ त ? भन्ने प्रश्न समेत खडा भएको छ ।

त्यस्तै मन्त्रिपरिषद्ले पहिलो चरण १७ गते ४० जिल्ला र दोस्रो चरण २७ गते बाँकी ३७ जिल्लामा निर्वाचन गर्ने निर्णयसमेत गरिसकेको छ । वैशाख १७ गते पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र २७ गते कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया