काठमाडौँ, २७ माघ । प्रतिनिधिसभाका पूर्वसांसद तथा नेकपाकी नेतृ समिना हुसेन प्रधानमन्त्री केपी शर्मा ओली पक्ष छाडेर प्रचण्ड–नेपाल समूहतिर लागेका छन् । प्रधानमन्त्री ओलीले गैर संवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै समिना हुसेन प्रचण्ड–नेपाल समूहमा लागेका हुन् ।
सांसद हुसेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘के.पी. ओलीको असंबैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनै पनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु ।’
प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ समिना हुसेनद्धारा जारी विज्ञप्ति ः
प्रधानमन्त्री के.पी. शर्मा ओलीले गैर संबैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन जस्तो प्रतिगमनकारी कदम चलाएपछि सिङ्गो राष्ट्र, संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा होमिएको छ । के.पी. ओली गुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेका छन् ।
म नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सम्पूर्ण कार्यकर्ता, मुस्लिम समुदाय, मधेसी समुदाय, महिला र विशेष गरी प्रदेश नं २ र रौतहटबासी सम्पूर्ण श्रमजीवि जनताहरुमा निर्धक्कसँग सबै खाले भ्रम चिर्दै के.पी. ओलीको असंबैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनै पनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु ।
…..
समिना हुसेन
प्रतिनिधिसभा सदस्य
रौतहट