प्रतिनिधिसभा विघटनविरुद्ध उर्लिएको जनसागरको सन्देश : ‘जनता अब जागिसके’

Halesi Khabar
0 Shares

काठमाडौँ, २८ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड(माधव समूहले माघ ९ गते दोस्रोपटक राजधानी केन्द्रित प्रदर्शन र विरोधसभा गरेको साँझपख प्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता केपी शर्मा ओलीले भन्नुभएको थियो, ‘आमसभा भन्ने कस्तो हुन्छ, माघ २३ गते हेर्न आउनू ।’

प्रतिनिधिसभाको असंवैधानिक कदमविरुद्ध प्रचण्ड(माधव समूहले राजधानी केन्द्रित सभा गरेपछि प्रतिनिधिसभा विघटनको पक्षमा माहौल बनाउन सरकारको नेतृत्व गरिरहेको ओली समूहले काठमाडौंमा माघ २३ गते आयोजना गरेको सभालाई बहुप्रतिक्षित रुपमा हेरिएको थियो ।

ओलीले माघ ९ गते नै ‘आमसभा भन्ने कस्तो हुन्छ माघ २३ गते हेर्न आउनु’ भनेर दिएको चुनौती र सरकार पक्षको कार्यक्रम भएकाले पनि नारायणहिटी दरबार गेटमा आयोजित ओली पक्षीय सभालाई चासोको रुपमा हेर्नु स्वभाविक थियो ।

सरकारी साधन स्रोतको दुरुपयोग गरेर आयोजना गरिएको भनी आरोपसमेत लगाइएको ओली पक्षीय सभामा मानिसको उपस्थितिले भने ओली पक्षीय नेताहरु रक्षात्मक बन्न पुगे ।

प्रधानमन्त्रीको सल्लाहकार विष्णु रिमालले एक सञ्चार माध्यमलाई दुई लाख बढी उपस्थित भएको दावी गरेपनि मञ्च व्यवस्थापनको जिम्मेवारी पाएका ओली पक्षीय एक नेताले बढीमा एकलाखको उपस्थिति हुने गरी मञ्चको व्यवस्थापन गरिएको, तर प्रचण्ड(माधव समूहको बन्दको कारण अपेक्षाकृत सहभागिता नभएको स्वीकार गरेका छन् ।

नेपाली सेना स्रोतले भने ओली समूहको उक्त कार्यक्रममा ३० हजार मानिसको उपस्थिति रहेको जनाएको छ । आज प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध प्रचण्ड(माधव समूहले काठमाडौंमा तेस्रो प्रदर्शन तथा विरोधसभा गर्यो ।

यो सभामालाई सम्बोधन गर्ने क्रममा नेकपाको प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई चुनौती फर्काउनुभयो, ‘ओलीजी जनसभा भन्ने कस्तो हुन्छ आज देख्नुभयो नि ।’ वरिष्ठ नेता झलनाथ खनालले पनि भन्नुभयो, ‘ओलीजी जनसभा कस्तो हुन्छ भन्ने आज देख्नु भो नि ।’

प्रचण्ड–माधव समूहले आजको विरोधसभामा दुई लाख मानिस उतार्ने दावी गरेको थियो । विरोधसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफ्नो अनुमान नभएर साथीहरुको रिपोर्ट भन्दै सभामा पाँचलाख मानिसको सहभागिता भएको रिपोर्ट आएको बताउनुभयो ।

तर, सुरक्षा निकायहरुले भने भेलामा कति मानिस थिए भन्ने अनुमान सार्वजनिक गरिसकेका छैनन् । आयोजकको दावी, अध्यक्ष प्रचण्डले साथीहरुले दिएको रिपोर्ट भन्दै सुनाएका तथ्यांक कति सही छन् या छैनन्, यसको एकिन हुँदै जाला ।

तर, आज प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड(माधव समूहले गरेको प्रदर्शन र विरोधसभालाई विशाल विरोध प्रदर्शन र विरोधसभा भन्न सकिन्छ । यो समूहले आजको विरोधसभा माघ ९ गते गरेकै स्थानमा गर्यो ।

टी आकारमा मानिसहरु बस्ने व्यवस्था मिलाइएको सभास्थलमा मानिसहरु अटाउन सकेका थिएनन् । टुँडीखेलको पर्खाल छेउमा मञ्च बनेको थियो । अगाडि विश्व भाषा क्याम्पसमा एक, दाँयातर्फ मञ्च र भद्रकालीको आकाशे पुलको बीचमा एक र बाँयातर्फ मञ्च र बागबजार आकाशेपुलको बीचमा एक गरी तीनवटा ठूलठूला डिजिटल पर्दा जोडिएको थियो, जहाँ मञ्चका सबै गतिविधि देखिन्थे ।

तर, मानिस भद्रकाली चोकमा समेत अटाएनन् । उता रत्नपार्क र त्रिचन्द्र क्याम्पससम्म भए । भद्रकालीतिर माइकको पनि व्यवस्था नगरिएकोले त्यहाँ बसेकाले मञ्च हेर्न पाएनन् नै, भाषणसमेत सुन्न पाएनन् । औपचारिक कार्यक्रम सुरु भएको मध्यभाग पुग्दासमेत जुलुस थपिने क्रम जारी थियो ।

सबैभन्दा बढी ठूलो संख्यामा रसुवाको जुलुस आइपुग्यो । भद्रकालीतिर नअटाएका मानिस फर्किएर रत्नपार्कतर्फ जाने र रत्नपार्कतर्फ नअटाएका मानिस सुन्धारा हुँदै भद्रकाली जानेक्रमले त्यसआसपास ठूलै जुलुस जस्तो देखिइरहेको थियो ।

मानिस कति थिए, एकीन तथ्यांक निकाल्न गाह्रो छ । तर, आज प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड(माधव पक्षले गरेको प्रदर्शन विशाल थियो, यसलाई दोस्रो जनआन्दोलनपछिको विशाल जनसागर उर्लिएको रुपमा मान्न सकिन्छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध उर्लिएको जनसागरको सन्देश हो, जनता जागिसके । विगतमा पनि जनता जागेर जनसागर उर्लिदा असंवैधानिक कदमहरु सच्चिएका छन् ।

तपाईको प्रतिक्रिया