काठमाडौँ, २९ माघ । नेकपा प्रचण्ड–नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उहाँलाई प्रहरीले श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा गरेको हो ।
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई बिहीबार मध्यान्ह बानेश्वरस्थित घरबाटै पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो । प्रहरीले राज्यविरूद्धको कसुर दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ पुर्जी थमाएको थियो ।
सांसद झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि प्रचण्ड–नेपाल पक्षसहित, नेपाली काँग्रेस, विभिन्न दलका नेता, अधिकारकर्मीलगायतले विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए । यस्तै केपी ओली नेतृत्वको सरकारको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको थियो ।
यस्तै प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताले राजधानीको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन समेत गरेका थिए । यसैबीच महाशाखामा झाँक्रीले आफ्नो राष्ट्रपति र सो संस्थाप्रति सम्मान रहेको बताएकी थिइन् ।
महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीले राष्ट्रपति र सो संस्थाप्रति सँधै सम्मान रहेको र आगामी दिनमा पनि रहने बताएको जानकारी दिनुभयो । थापाका अनुसार झाँक्रीले संविधानले अभिव्यक्ति स्वन्त्रता दिएको हुनाले आफूले राष्ट्रपतिको आलोचना गर्दै भाषण गरेको बताउनुभएको छ ।
गोरखामा भएको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपतिको कडा आलोचना गर्नुभएको थियो भने सो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओली समूहका महिला नेत्रीहरुले आपत्ति जनाउँदै आएका थिए । उनीहरुले झाँक्रीलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।