प्रचण्ड–नेपालको आव्हान : ‘प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहनोस’

Halesi Khabar
0 Shares

काठमाडौँ, ३० माघ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिगामी कदमविरुद्धको आन्दोलनको अन्तिम धक्काको लागि तयार रहन आव्हान गरेका छन् ।

अध्यक्षद्वयले जनताको बलिदान, संघर्ष र प्राप्त जनमतको उपहास गरी संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको’ भनेका छन् ।

सोना ल्होछारको अवसरमा शुभकामना दिँदै प्रचण्ड–नेपालले भनेका छन्, ‘समुदायको पहिचान र हक अधिकारका लागि नेपाली जनताले सयौं वर्षदेखि संघर्ष गर्दै आएका छन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र त्यागले नै नेपालमा धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता, संघीयता र गणतन्त्रात्मक व्यवस्था कायम भएको हो ।

‘पछिल्लो घटनाका रूपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरू भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहन अग्रगामी पक्षधर सबै जनसमुदायलाई हार्दिक आव्हान गर्दछौँ ।’

तपाईको प्रतिक्रिया