काठमाडौँ, १ फागुन । विभाजित नेकपाका दुवै पक्ष आआफ्नो अभियानमा लागेका छन् । शनिबार ओली पक्षले बुटवलमा प्रदेशस्तरीय जनसभा आयोजना गरेको छ भने प्रचण्ड–नेपालले देशभर जनयुद्ध दिवस मनाउँदैछ ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दैछन् । नेकपा लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रमका प्रमुख वक्ताका रुपमा ओली शनिबार त्यसतर्फ जाँदै हुनुहुन्छ । । उहाँले लुम्बिनी केबलको उद्घाटन समेत गर्दै हुनुहुन्छ ।
ओली पक्षले सडकमा देखिएका भ्रम चिर्न, चुनावी माहोल बनाउन र सरकारले गरेका कामबारे जनतालाई जानकारी दिन भन्दै जनसभाहरु गर्दै आएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएका नेकपा प्रचण्ड–नेपाल पक्षले शनिबार देशभर जनयुद्ध दिवस मनाउँदैछ ।
तत्कालीन माओवादीले चलाएको दश वर्षे सशस्त्र युद्धको स्मरण गर्दै आज जनयुद्ध दिवस मनाउन लागिएको हो । सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाएको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।
काठमाडौँमा शहीद स्मृति तथा सम्मान कार्यक्रम आज केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदैछ । सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने जनाइएको छ ।
कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने निश्चित रहे पनि अर्का अध्यक्ष माधव नेपाल धनकुटामा रहेकाले सहभागिता नहुने भएको छ । यद्यपि कार्यक्रम भने सल्लाह गरेरै राखिएको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।