खोटाङ, १ फागुन । रावाबेँसी गाउँपालिकामा पाँचौँ वर्थिङ सेन्टर (प्रसुतिगृह) स्थापना गरिएको छ । छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं.–४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर वर्थिङ सेन्टर सेवा शुरु गरिएको हो ।
वानहर्ट वल्डवाईड नामक संस्था र गाउँपालिकाको सहकार्यमा भवन निर्माण गरेर स्थापना गरिएको वर्थिङ सेन्टर गाउँपालिका प्रमुख लीलानाथ निरौलाले उद्घाटन गर्नुभयो । वानहर्टको ६२.३ प्रतिशत र गाउँपालिकाको ३७.७ प्रतिशत गरी रु १७ लाखमा चार कोठे भवन निर्माण गरेर वर्थिङ सेन्टर स्थापना गरिएको हो ।
वर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, वेटिङमा बस्ने र सभाहल सहितको चार कोठे भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । नयाँ भवन, वर्थिङ सेन्टरका लागि आवश्यक उपकरण, जनशक्ति एवम् औषधिको व्यवस्था गरेर वर्थिङ सेन्टर स्थापना गरिएको वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिनुभयो ।
वानहर्टले सुत्केरी गराउन आवश्यक पर्ने बेडदेखि अन्य आवश्यक उपकरण उपलब्ध गराएको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष समला राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
छ वडा रहेको गाउँपालिकामा अब वडा नं.–५ दुवेकोलमा मात्र वर्थिङ सेन्टर स्थापना गर्न बाँकी छ । दुवेकोलमा समेत यहि आर्थिक वर्षभित्र स्थापना गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले यसअघि नै सबै वडामा वर्थिङ सेन्टर स्थापना गरिसकेका छन् । वडावडामा व्यवस्थित वर्थिङ सेन्टर स्थापना गरेर आफ्नै क्षेत्रमा प्रसुति सेवा पाएपछि सेवाग्राही हर्षित भएका छन् ।
यसैबीच, ऐसेलुखर्क गाउँपालिकामा आधारभुत अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको शुरु गरिएको छ । पन्ध्र शैयाको आधारभुत अस्पताल निर्माणका लागि गाउँपालिकाले डिपिआर निर्माणको काम शुरु गरेको हो ।
अस्पतालको डिपिआर तयार पार्नका लागि गाउँपालिकाले सार्वजनिक खरिद नियमावलीको प्रावधान बमोजिम प्रस्ताव पेश गर्न इच्छुक फर्म वा कम्पनीलाई आग्रह गरेको छ । रु १७ लाख २१ हजारमा डिपिआर तयार पार्नका लागि १५ दिनभित्र प्रस्ताव पेश गर्न गाउँपालिकाले सूचना जारी गरेको हो ।
आधारभुत अस्पतालको टोपोग्राफिकल सर्भे, इन्जिनियरिङ सर्भे, जियो टेक्निकल, स्ट्रक्चर डिजाईन, ल्याण्डस्केप डिजाईनदेखि डिटेल स्टीमेट समेटिनेगरी प्रस्ताव आव्हान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । आधारभुत अस्पताल निर्माणका लागि नौँ रोपनी जग्गा व्यवस्था गरेर डिपिआरको काम थालिएको हो ।
प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार गत मंसिर १५ गते ऐसेलुखर्कमा आधारभुत अस्पतालको भवन शिलान्यास गरिएको थियो । अस्पतालका लागि स्थानीय रामकुमार विश्वकर्माले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको र चार रोपनी जग्गा खरिद गरिएको छ ।