फोनिजका केन्द्रीय सदस्य पत्रकार मगर राससको १ नं. प्रदेश सर्वोत्कृष्ट पुरस्कारबाट पुरस्कृत

Halesi Khabar
0 Shares

खोटाङ, ७ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का केन्द्रीय सदस्य पत्रकार केदार मगर राष्ट्रिय समाचार समिति (रासस)को १ नं. प्रदेश उत्कृष्ट सम्वाददाताका रुपमा पुरस्कृत हुनुभएको छ । बिगत दश वर्षदेखि राससको खोटाङ सम्वाददाता भएर काम गर्दै आउनुभएका केन्द्रीय सदस्य मगर शुक्रबार आयोजना गरिएको राससको ६० औँ वार्षिक उत्सवको अवसरमा दोस्रो पटक पुरस्कृत हुनुभएको हो ।

नेपाल पत्रकार महासङ्घका १ नं. प्रदेश सभाषदसमेत रहनुभएका पत्रकार मगरलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल र राससका महाप्रबन्धक ओपेन्द्र शर्माले संयुक्तरुपमा नगद रु १५ हजार राशिको पुरस्कार प्रदान गर्नुभयो । नयाँ पत्रिका दैनिकको खोटाङ सम्वाददातासमेत रहनुभएका पत्रकार मगर वि.सं. २०७४ सालमा समेत राससको १ नं. प्रदेश सर्वोत्कृष्ट बन्नुभएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार मगरसँगै अन्य छवटै प्रदेशका सर्वोत्कृष्ट उत्कृष्ट सम्वाददाता तथा विभिन्न विद्याका पुरस्कारबाट अन्य पत्रकारहरुसमेत पुरस्कृत भएका छन् । खोटाङलाई कार्यक्षेत्र बनाएर रासससँगै विभिन्न सञ्चारमाध्यममा आवद्ध भएर पत्रकारिता गर्दै आउनुभएका पत्रकार मगर तत्कालीन जिल्ला विकास समितिले प्रदान गरेको सर्वोत्कृष्ट विकास पत्रकारिता पुरस्कार लगायत दर्जनबढी पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया