मझुवागढी रणजितमान कप फुटबल प्रतियोगिता ११ बजेबाट शुरु हुँदै

Halesi Khabar
0 Shares

खोटाङ, १० फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता आज (सोमबार)बाट सञ्चालन हुँदै छ । ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नाराका साथ वडा कार्यालय र स्थानीय नमूना स्पोर्टस क्लबको आयोजनामा १५ गतेसम्म सञ्चालन हुने ‘मझुवागढी रणजितमान राई अन्तर वडास्तरीय पुरुष प्रथम च्यालेञ्ज कप’ फुटबल प्रतियोगितामा खोटाङसहित छिमेकी जिल्लाका २१ समूहले प्रतिष्पर्धा गर्दै छन् ।

लफ्याङस्थित छिवामा निर्माणाधीन मझुवागढी रणजितमान राई खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता आज बिहान ११ बजे प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजकका अनुसार पहिलो खेल साकेला गाउँपालिका–२ रतन्छा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाबीचमा हुने छ ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूहले नगद रु एक लाख ५५ हजार, दोस्रो स्थान प्राप्त गर्नेले रु एक लाख एक हजार र सेमिफाइनलिस्ट दुई समूहले रु ३१÷३१ हजार नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक एवम् नमूना स्पोर्टस क्लवका अध्यक्ष काजीमान राईले जानकारी दिनुभयो । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार ५००, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित समूहलाई नगद रु पाँच÷पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रमको अवसरमा जिल्लामा क्रियाशील एक जना पत्रकारलाई नगद रु पाँच हजार ५५५ को खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । जिल्लाकै खेलाडीलाई पहिलो प्राथमिकता दिने उद्देश्यले आयोजना गरिएको फुटबल प्रतियोगितामा बढीमा तीन जना बाह्य जिल्लाका खेलाडीलाई सहभागी गराउन पाइने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा चर्चित गायक राजेशपायल राई, गायक रेवत राई, विश्व लिम्बू लगायतका कलाकारको साँगीतिक प्रस्तुतिसमेत रहने आयोजक समितिका संयोजक राईले जानकारी दिनुभएको छ । ‘राई ईज किङ’को उपाधिसमेत पाउनुभएका गायक राजेशपायल आफ्नो गृह जिल्लामा आउनुभएपछि कार्यक्रमस्थल तथा मञ्च बेहुली झै सिङ्गारिएको छ ।

स्थानीय बासिन्दाको पहलमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक फुटबल प्रतियोगिता आयोजना गरिएपछि मञ्च निर्माण, शौचालय व्यवस्थापन, खाजा घर निर्माण, खेलमैदान वरपर डोरीको घेरावारा हाल्ने, सरसफाई गर्ने, गेट निर्माण लगायतका व्यवस्थापनको काम गरिएको छ । धुलो उँड्न नदिन खेलमैदानलाई ट्याकरमार्फत पानीले भिजाइएको क्लवले जनाएको छ ।

नमूना स्पोर्टस क्लबले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशिको फुटबल प्रतियोगिता गर्न लागेको वडाध्यक्ष निर्मल राईले बताउनुभएको छ । वडा कार्यालयको रु १२ लाख ७० हजारको खर्चमा २०७६ जेठ ७ गते शिलान्यास गरिएको खेलमैदान १२० मिटर लम्बाई र ८० मिटर चौडाईको रहेको छ ।

निर्माणाधीन अवस्थामै रहेको खेलमैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कामसमेत सम्पन्न गरिएको छ । वडा कार्यालयको पहलमा स्थानीय बासिन्दाले १८ रोपनी जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण गरिएको हो ।

 

 

तपाईको प्रतिक्रिया