बाक्सिलामा सञ्चालित स्वास्थ्य शिविरमा ४५३ सर्वसाधारणको निःशुल्क उपचार

Halesi Khabar
0 Shares

खोटाङ, १० फागुन । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजना गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ४५३ जना सर्वसाधारणले सेवा पाएका छन् । जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित स्वास्थ्य शिविरमा पहिलो दिन १४४ जना र दोस्रो दिन ३०९ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराउनुका साथै उपचार सेवा पाएका हुन् ।

स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै शनिबार र आइतबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सरको अवस्थाका बारेमा थाहा पाउन २५ जनाको सर्भाइकल टेष्ट, ५३ जनाको भिडियो एक्स–रे, ६२ जनाको ९१ वटा दाँत फुकालिएको, ७५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको, विभिन्न रोगका ५२ विरामी बालबालिकाको चेकजाँच गरिएको छ । कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सह–आयोजनामा आयोजना गरेको विशेषज्ञ सहितको शिविरमा आँखाको शल्यक्रीया गर्नुपर्ने १५ जना बिरामीको पहिचान गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले बताउनुभयो ।

शिविरमा २५ जना डायबिटिज र ६ जनाको पिसाब परीक्षण गरिएको छ । शिविरमा सहभागी ६० वर्ष भन्दा माथिका आँखाका बिरामीलाई गाउँपालिकाले निःशुल्क चश्मा वितरण गरेको जनाइएको छ ।

स्वास्थ्य शिविर गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले उद्घाटन गर्नुभएको थियो । दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर जनसेवा अस्पतालले सुरु गरेको अभियान अन्तरगत बाक्सिलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।

गत बुधबार र बिहिबार ऐसेलुखर्कको ऐसेलुखर्कबजारमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा एक जना एमडिजिपी, दुई जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मी टोलीले उपचार सेवा दिइरहेको जनसेवा सामुदायीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिनुभएको छ ।

स्वास्थ्य शिविरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ । पाँच स्थानीय तहमा सञ्चालन गर्नेगरी शुरु गरिएको शिविर क्रमशः फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेँसी गाँउपालिकाको हरमटारमा र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा सञ्चालन हुनेछ ।

जनसेवा समाज नेपालको आयोजनामा स्थानीय बासिन्दाको गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि सेवाग्राही समेत हर्षित भएका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रका स्थानीय तथा बिपन्न समुदायको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुच बिस्तार गर्ने उद्देश्यका साथ वि.सं. २०६९ सालमा जनसेवा सामुदायिक अस्पताल स्थापना गरिएको हो ।

तपाईको प्रतिक्रिया