खोटाङ, २२ फागुन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक किसिमको घरायसी सामग्री उत्पादन गर्न थालेका छन् । गाईवस्तुलाई घाँसको रुपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि च्यास्मिटारका ३० जना महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन शुरु गरेका हुन् ।
स्थानीय महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तरगत मकैको खोसेलाबाट घरायसी काममा उपयोग हुने सामग्री उत्पादन सम्बन्धी एक महिने तालिमको आयोजना गरेको थियो । तालिमपछि च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोला लगायतका सामग्री उत्पादन गर्न थालेका छन् ।
त्रिधार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीले हलेसीको चिनोकारुपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्वन्धित तालिम दिइएको नगरप्रमुख इवन राईले बताउनुभयो । “मकैको खासेला गाईवस्तुलाई खुवाउनमा मात्र उपयोग भइरहेको थियो”, उहाँले भन्नुभयो, “मकैको खोसेलाबाट आकर्षक र उपयोगी सामग्री उत्पादन गर्ने तथा विक्री वितरण गर्दै आम्दानीको स्रोत बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।”
लघु उद्यम सम्बन्धी आठ दिनको तालिम दिए लगत्तै काठमाडौँबाट तीन जना दक्ष प्रशिक्षकलाई ल्याएर उनीहरुलाई खोसेलाको सामग्री उत्पादन सम्बन्धी तालिम दिइएको नगरपालिकाले जनाएको छ । क्रमशः हलेसी, धितुङ लगायतका वडामा पनि खोसेलाको सामग्री तयार पार्ने सीप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।
नगरपालिकाका अनुसार तालिममा सहभागीले व्यक्तिगत वा सामुहिकरुपमा मकैको खोसेलाबाट सामग्री उत्पादन गर्ने छन् । मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गरेर व्यवसाय गर्न चाहने महिलाहरुलाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।
मकैको खोसेलाबाट निर्माण गरिएका सामग्री जिल्लाका विभिन्न बजार तथा छिमेकी देश चिनसम्म निर्यात गर्ने महत्वकांक्षी लक्ष्य राखिएको छ । मकैको खोसेलाबाट महिलाहरुले उत्पादन गरेका घरेलु सामग्रीको मूल्य निर्धारण तथा बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने जनाइएको छ ।
आम्दानीको अन्य स्रोत नभएको उक्त क्षेत्रमा यसअघि खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाले रु दश लाख बजेट विनियोजन गरेको थियो । कच्चा पदार्थ (कपास) अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनः सञ्चालनमा ल्याउन नगरपालिकाले कपास खेती प्रवद्र्धनमा रु दश लाख बजेट लगानी गर्न गरेको हो ।
पछिल्लो समय सङ्कटमा पर्दै गएको पुख्र्याैली व्यवसायलाई जगाउन नगरपालिकाको तर्फबाट किसानलाई कपास खेती गराउन बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताउनुभयो । “बजारमा हलेसी क्षेत्रमा बुनिएका खाँडी कपडाको माग धान्न गाह्रो देखिएको छ”, उहाँले भन्नुभयो, “लोपोन्मुख अवस्थामा पुगेको खाँडी कपडा बुन्ने व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन नगरपालिकाको तर्फबाट यस वर्षबाट कपास खेतीका लागि बजेट व्यवस्था गरेका हौँ ।”
कपास खेतीका लागि ७ नम्बर वडा कार्यालयको तर्फबाट आर्थिक वर्ष २०७६÷०७७ मा १५ जना महिलालाई कपास खेती प्रवद्र्धन सम्बन्धी तालिम दिएको थियो । हलेसी क्षेत्रका स्थानीय कृषकले कपास खेती गर्न छाडेपछि कच्चा पदार्थ अभावमा अहिले खाँडी कपडा उत्पादन हुन छाडेको छ ।
कपासबाट उत्पादन गरिएको दौरा÷सुरुवाल पुग्ने कपडा प्रतिथान रु १५ हजार र कोगटीको दौरा(सुरुवाल पुग्ने कपडा प्रतिथान रु २० हजारमा बिक्री हुने गरेको छ । कोगटीबाट उत्पादन गरिने खाँडी कपडाको माग बजारमा उच्च रहेको जनाइएको छ ।
हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बाहिरी जिल्ला तथा विदेशसमेत निर्यात हुने गरेको थियो । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा पर्यटकलाई हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बिक्री गर्दा आम्दानीको स्रोतसमेत वृद्धि हुनेको गरेको थियो ।