काठमाडौँ, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अन्ततः छुट्टिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अधिकांशले पार्टी एकता गरेर जानुपर्ने छलफल गरे पनि अन्ततः बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।
उक्त निर्णयपछि प्रचण्ड र माधव नेपाल छुट्टिने भएका छन् । तर, औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किनुभएका झनाथ खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताउनुभएको छ ।
पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग समेत गरिने नेता खनालले बताउनुभयो । सर्वोच्च अदालतले नेकपा खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्यूँताइदिएपछि प्रचण्ड–नेपाल समूहले यस्तो निर्णय गरेको हो ।
अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो । अदालतले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज गरेको थियो ।
प्रचण्ड—माधव समूहका स्थायी कमिटी बैठक जारी रहेकै बेला पूर्व एमालेका तीन सदस्य बैठकबाट बाहिरिएका थिए । बैठकबाट जारी रहदा घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त बाहिरिए ।
नेता रघुजी पन्तले बैठकबाट बाहिरिँदै पत्रकारहरुसँग पार्टी एकता जोगाएर जानुपर्ने बताउनुभयो । बैठकमा सहभागी भएर बाहिरिएका नेता पन्तले पत्रकारहरुसँग कुरा गर्दै पार्टी जोगाउने सम्भवना अझै खोज्नुपर्ने बताउनुभएको हो ।
उहाँले पूर्व पार्टीमा नै जाने कि नजाने भन्ने विषयमा छलफल जारी नै रहेको बताउँदै भन्नुभयो, ‘त्यो विषयमा त छलफल जारी नै छ । तर पार्टी एकता जोगाउन सकिन्छ भने जोगाउने सम्भावनाहरु खोज्नुपर्छ’ ।
त्यस्तै, नेता सुरेन्द्र पाण्डेले बैठबाट बाहिरिँदै पत्रकारहरुसँग बैठक जारी रहेको जानकारी दिनुभयो । बैठकका बीचैमा बाहिरिँदै गर्दा घनस्याम भुसालले भने पत्रकारहरुसँग प्रतिक्रिया दिन इन्कार गर्नुभएको छ ।
बैठकमा माधवकुमार नेपाल पक्ष नेकपा एमालेको केन्द्रीय कार्यसमितिको नामावली सहित पेरिसडाँडा पुगेका थिए । नेपाल पक्षले प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकअघि नयाँ बानेश्वरस्थित अर्याल होटलमा आन्तरिक छलफल गरेका थिए ।