विद्यार्थीलाई स्यानिटरी प्याड, टिफिन क्यारी र दिवा खाजाको व्यवस्था

Halesi Khabar
0 Shares

खोटाङ, २६ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै विद्यालयमा स्यानिटरी प्याड र टिफिन क्यारी वितरण तथा दिवा खाजा कार्यक्रम लागू गरेको छ । नेपाल सरकारको घोषित कार्यक्रम अन्तरगत नगरपालिकाभित्र सञ्चालित ९३ विद्यालयका पाँच हजार ४७८ विद्यार्थीका लागि उक्त कार्यक्रम लागू गरिएको हो ।

पन्ध्र वडा रहेको उक्त नगरपालिकाको वडा नं.– ६ नेर्पास्थित कालिका माविमा बुधबार औपचारिक कार्यक्रम गरेर उक्त तीन वटै कार्यक्रम एकैसाथ लागू गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न संघीय सरकारबाट आर्थिक वर्ष २०७७÷२०७८ मा प्राप्त भएको रकममध्ये करीब रु १६ लाख बराबरको रकमबाट स्यानिटरी प्याड खरिद गरेर ६५ हजार प्याकेट ल्याइएको नगरपालिकाले जनाएको छ ।

छात्राहरुलाई रजश्वाला (महिनावारी) भएको समयमा पनि नियमित विद्यालय गएर पढाइमा निरन्तरता दिउन भन्ने उद्देश्यले स्यानिटरी प्याड वितरण गरिएको नगर उपप्रमुख विणादेवी राईले बताउनुभयो । यस नगरपालिकमा १४ निमावि र २१ वटा माध्यमिक विद्यायलका तीन हजार ३१० जना छात्रालाई स्यानिटरी प्याड वितरण गरिने जनाइएको छ ।

यता, दिवा खाजा कार्यक्रमका लागि रु ९२ लाख छुट्टिएकोमा मङ्सिर र पुसको लागि रु २५ लाख ५० हजार निकासी गरेर पाँच हजार ४७८ जना विद्यार्थीलाई वितरण गर्ने तयारी गरिएको शिक्षा शाखा प्रमुख तीर्थ विश्वकर्माले बताउनुभयो । नियमित विद्यालय पठाउने उद्देश्यकासाथ यो तीनवटै कार्यक्रम लागू गरिएको नगरपालिकाले जनाएको छ ।

विद्यालयमा टिफिन क्यारी र दिवा खाजा कार्यक्रमको व्यवस्था गर्दा विद्यार्थीको मनोबलसमेत उच्च हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । दिवा खाजा कार्यक्रम बापतको रकम प्रति व्यक्ति दैनिक रु १५ को दरले विद्यार्थीको अभिभावकलाई वितरण गरिने जनाइएको छ ।

विद्यालय उपस्थित भएर अनिवार्य हाजिरी भएका विद्यार्थीलाई मात्र दिवा खाजा कार्यक्रमको रकम प्रदान गरिने नगरप्रमुख रिजालले बताउनुभयो । दिवा खाजा बापतको रकम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई एकमुष्ट प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले यसअघि नै उक्त कार्यक्रम लागू गरेको थियो । दिवा खाता, टिफिन क्यारी र स्यानिटरी प्याड वितरण कार्यक्रमले विद्यार्थीहरुसमेत उत्साहित भएको जनाइएको छ ।

जिल्लामा कक्षा–१ देखि कक्षा–५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम बापतको रकम प्रदान गर्ने गरिएको छ । स्यानिटरी प्याड भने कक्षा–६ देखि कक्षा–१० सम्मका छात्रालाई प्रदान गर्ने गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया