खोटाङ, २७ फागुन । खोटाङ फुटबल एकेडेमीले ‘दोस्रो जिल्ला अन्तर क्लवस्तरीय पुरुष फुटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ चैत–४ गतेबाट प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको हो ।
दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिमा क्लव दर्ता भएको, क्लवको प्रमाणपत्र, वार्षिक नवीकरण गरेको प्रमाणपत्र भएको, जिल्लाको आधिकारिक क्लवहरु गरी १६ टोलीले सहभागिता जनाउने जनाइएको छ । पहिले दर्ता हुन आउने क्लवलाई प्राथमिकता दिइने र १६ समूहभन्दा बढी भएमा जिल्लाकै आधिकारिक समूह भएपनि उक्त प्रतियोगितामा सहभागी गराउन नसकिने एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
प्रतियोगितामा एउटा समूहमा दुई जना गोल रक्षकसहित १४ जना खेलाडी, एक व्यवस्थापक र एक जना प्रशिक्षक गरी १६ जना हुनुपर्नेछ । प्रतियोगितामा सहभागिताका लागि चैत–१ गतेभित्र आ–आफ्नो समूह दर्ता गराइ सक्नुपर्ने आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नूरकाजी सैंजूले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने समूहले रु ८८ हजार ८८८, दोस्रो हुनेले रु ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई समूहले प्रति समूह रु २२ हजार २२२ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । विद्यागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता, र कोचलाई जनही रु पाँच हजार नगद ट्रफि, मेडल प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई रु सात हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाणपत्र र म्यान अफ द म्याचलाई नगद रु एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्य र एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंसहित केन्द्रीय पदाधिकारीको उपस्थितिमा हुने आयोजकले जनाएको छ ।
उद्घाटन सत्रका दिन जिल्लामा क्रियाशिल पत्रकार र केएफए भेट्रोन (बुढ्यौली) समूहबीच मैत्रीपूर्ण प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाटनका दिन एकेडेमीको आफ्नै गीत सार्वजनिक गरिने र फुटसल सेन्टरलाई निःशुल्क जग्गादानको कार्यक्रम पनि तय गरिएको छ ।
प्रतियोगिताको सेमिफाइनलिस्ट एक समूहको पुरस्कार नेपाली सेनाबाट अवकाशप्राप्त दिक्तेलका जमदार गोपाल श्रेष्ठ, विद्यागत पुरस्कार खोटाङका कोकाकोला डिष्ट्रीब्युटर टेकबहादुर मुग्राती, म्यान अफ द म्याच पुरस्कार र मेडलको गौरी नुडल्सका प्रोपाईटर अमृत बुढाथोकीले प्रायोजन गरिदिएको छ । खेलकुदको अभियान खोटाङको पहिचान भन्ने नाराका साथमा वि.सं. २०७३ सालमा स्थापना भएको एकेडेमीले गत वर्षदेखि जिल्ला अन्तर क्लव पुरुष फुटबल प्रतियोगिता गराउँदै आएको छ ।
यसअघि दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आयोजना गरिएको पहिलो सँस्करणमा आयोजक नै प्रथम भएको थियो । प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
जिल्लामा फुटबल खेल तथा खेलाडीको व्यवसायिक विकासमा लागेको एकेडेमीले निःशुल्क प्रशिक्षण समेत सञ्चालन गरिरहेको छ । एकेडेमीले सञ्चालन गरेको निःशुल्क प्रशिक्षण लिएका खेलाडीहरु अहिले राष्ट्रिय खेलाडीसमेत बनिसकेका छन् ।