खोटाङ, २८ फागुन । खोटाङका श्रष्टा प्रकाश आचार्य ‘भावुक’ प्रभाको शोककाव्य ‘हजुरबा’ लोकार्पण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल फूलबारी टोलका आचार्यले आफ्नो स्वर्गीय हजुरबा बोलप्रसाद आचार्य ‘माझाघरे’को स्मृतिमा सिर्जना गर्नुभएको शोककाव्य लोकार्पण गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार विष्णु आभूषणले आचार्यको शोककाव्य ‘हजुरबा’ लोकार्पण गर्नुभयो । विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशन गर्दै आउनुभएका आचार्यले साँस्कृतिक पुजारीसमेत रहनुभएका स्वर्गीय हजुरबाको सम्मान र स्मृतिमा शोककाव्य तयार पार्नुभएको हो ।
लोकार्पण गरिएको पुस्तकमाथि शिक्षक काजीप्रसाद खतिवडाले टिप्पणी गर्नुभएको छ । विभिन्न साहित्यिक एवम् सामाजिक सङ्घसंस्थामा आवद्ध आचार्य निजामती सेवामा आवद्ध हुनुहुन्छ ।
राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा २०७७ सालमा नेपाली सेनाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा पुरस्कृत हुनुभएका आचार्य कथा, निबन्ध, कविता लगायत साहित्यिक सिर्जनामा चम्किला श्रष्टा मानिुहुन्छ । सरकारी सेवामा कार्यरत आचार्य साहित्यिक पत्रपत्रिकासँग पनि आवद्ध हुनुहुन्छ ।
बुबा अविनारायण आचार्य र आमा कुमारी आचार्यको सन्तान रहेका प्रकाश सुनौलो बिहानी साहित्यिक पत्रिकाका सम्पादक र पुष्पसमय साहित्यिक पत्रिकाका प्रधान सम्पादकको जिम्मेवारीमा हुनुहुन्छ । ‘हजुरबा’ लोकार्पण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, साहित्यकार टंक भट्टराई, प्रेस स्वतन्त्रता सेनानी पत्रकार कृष्ण आचार्य, बुद्धिजिवी देवीप्रसाद रिजाल, शिक्षक काजीप्रसाद खतिवडा, श्रष्ठा, साहित्यनुरागी लगायतको उपस्थिति रहेको थियो ।