खोटाङ, २८ फागुन । नेपाल विद्यार्थी सङ्घ खोटाङका नेता किसन भुजेलले रक गार्डेनमा भेटेको पैसा प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ । नेविसङ्घ खोटाङका जिल्ला सह–सचिव भुजेलले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ‘रक गार्डेन’मा फेला पार्नुभएको रु ९८ हजार रकम ईलाका प्रहरी कार्यालय हलेसीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको हो ।
भुजेलले त्रिधार्मिकस्थल हलेसीमा निर्माणाधीन ‘रक गार्डेन’मा घुमफिर गर्नेक्रममा रु ९८ हजार रकम, सामसुङ मोबाइल लगायतका सामग्री राखिएको झोला बिहीबार फेला पार्नुभएको थियो । भुजेलले भेटेको रकम हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकै आशिष राईको भएको खुलेको छ ।
राई आफ्नै गाउँमा व्यवसायिक तरकारी उत्पादन गर्ने कृषक हुनुहुन्छ । “मैले हराएको पैसा यसरी पाउछु भन्ने आश गरेकै थिएन । तर, असल व्यक्तिले भेटेको पैसा प्रहरी मार्फत फिर्ता पाउँदा अत्यन्तै खुसी छु,’ राईले भन्नुभयो, “समाजमा किसन जस्ता मान्छेको खाँचो छ । उहाँलाई मेरो हृदयदेखि नै सम्मान गर्न चाहान्छु ।”
पर्यटकीय क्षेत्रकारुपमा विकास हुँदै गरेको रक गार्डेनमा पैसा भेटाउनुभएका भुजेलले हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईलाई पनि फोन गरेर जानकारी गराएर प्रहरीलाई बुझाउनुभएको थियो । भुजेल शिवरात्रीको अवसरमा बिहीबार सार्थीहरुसँग रक गार्डेन घुम्न जानुभएको थियो ।
हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीस्थित निर्माणाधीन रक गार्डेनमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको उक्त ठाउँलाई पर्यटन मन्त्रालयको बजेटमा पुरानो सम्पदा नास नहुनेगरी नगरपालिकाले स्तरोन्नतिको काम शुरु गरेको हो ।