खोटाङ, २९ फागुन । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले नेपाली काँग्रेसको आगामी भदौमा हुने १४ औँ महाधिवेशनमा केन्द्रीय सभापति बाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताउनुभएको छ । नेपाल प्रेस युनियन खोटाङले शनिबार त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सभापतिका लागि उम्मेदवारी दिनेबारे समर्थक र नेताहरुसँग छलफल भइरहेको बताउनुभयो ।
अहिले नेपाली काँग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले काँग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको उहाँको भनाइ छ । वर्तमान राजनीतिक परिवेशका बारेमा बोल्नुहुँदै नेता कोईरालाले निकाशको लागि निर्वाचनमात्र एक मात्र विकल्प रहेको बताउनुभयो ।
विकसित राजनीतिक परिवेशको मुख्य जिम्मेवार अहिलेको प्रधानमन्त्री केपी शर्मा ओली रहेको आरोप लगाउनुहुँदै नेता कोईरालाले पुस ५ गते ओलीले चालेको कदम संविधान बिपरित रहेकाले विरोध गरेको बताउनुभयो । “संसद पुनःस्थापना भएपछि भने राजनीतिक दलहरुको भूमिका मिल्न नसक्ने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “वर्तमान परिवेशमा प्रतिनिधिसभाले अनिर्णयको बन्दी भइरहनु पर्ने परिस्थिति सिर्जना भएकाले चुनावमा जानुको विकल्प छैन ।”
पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि अब निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएकाले आवधिक या मध्यावधि जुनसुकै भएपनि निर्वाचन हुन आवश्यक रहेको उहाँको धारणा थियो । कोईराला परिवारको लामो बिरासतबाट उठेको राजनीतिमा सकरात्मक तथा नकारात्मक प्रतिकृयाहरु आउने गरेको भन्नुहुँदै उहाँले अब अल्पमतको सरकार आवश्यक रहेको पनि जानकारी दिनुभयो ।
अल्पमतको सरकार नभएसम्म निर्वाचनमा जान नसकिने संवैधानिक व्यवस्था भएकाले अब त्यता लाग्नु पर्ने दुई÷तीनवटा विकल्पहरु रहेको बताउनुभयो । “नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वासको माध्यमबाट ओली सरकारलाई हटाउनु पर्ने हुन्छ”, उहाँले भन्नुभयो, “माओवादी केन्द्रले समर्थन फिर्ता गरेपछि मात्र सरकार गठनको प्रकृया अगाडि बढ्छ ।”
देशलाई निकाश दिन जनता समाजवादी पार्टीसँग मिलेर काँग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने पनि उहाँले बताउनुभयो । “वर्तमान अवस्थामा प्रधानमन्त्री ओलीको बर्हिगमन अपरिहार्य छ”, उहाँले भन्नुभयो, “ओलीको बर्हिगमनपछि काँग्रेसले जसपा र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउँछ ।”
ओलीको सत्तामा टिकाउने खेलले नेपालको राजनीतिमा ठूलो विकृति सिर्जना भएकाले ओलीलाई हटाएर यो विकृति अन्त्य गर्न जरुरी रहेको उहाँले बताउनुभयो । नेता कोईरालाले काँग्रेसले जनमत अनुसार सत्ता आकांक्षा नराखे पनि परिस्थितबस आएको जिम्मेवारीबाट पार्टी नभाग्ने बताउनुभयो ।
हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा पूर्व युवा नेता विदुर तिम्सिना, जिल्ला सभापति नरेश श्रेष्ठ, पूर्व जिल्ला सभापति विष्णुकुमार राई, हलेसी तुवाचङुनगरपालिकाका नगरप्रमुख इवन राई लगायतको उपस्थिति रहेको थियो । पार्टी कार्यकर्ता भेटघाटका लागि खोटाङ आउनुभएका नेता कोईराला लगायतको टोलीले हलेसीको दर्शन गर्नुका साथै पर्यटकीयस्थलहरुको अवलोकन भ्रमणसमेत गरेका छन् ।