–भीम राई
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला खोटाङ आउनुभयो । आफ्ना परिवारकासाथ खोटाङ जिल्लाको त्रिधार्मिक धाम हलेसी दर्शनमा आइपुगेका उहाँले हलेसीमा दर्शन गरेर सिद्राको व्यापारसमेत गर्न भ्याउनुभयो । उहाँ २८ गते बेलुकी नै हलेसी तुवाचुङ नगरपालिकामा आइपुग्नुभएको थियो ।
नेपाली काँग्रेसभित्र सशक्त एवम् बौद्धिक मानिएका नेता कोइरालाले हलेसी महादेवको दर्शनलाई प्रमुख आधार बनाएर राजनीतिक गतिविधिमा समेत संलग्न हुनु कुनै अनौठो रहेन । उहाँलाई हलेसीमा स्वागत गर्न खोटाङ काँग्रेस नेताहरुको लर्को लाग्ने नै भयो ।
काँग्रेस पार्टीको जिल्ला सभापतिदेखि पूर्व सभापतिहरु, जिल्ला कार्यसमितिका पदाधिकारी, काँग्रेस क्षेत्रीय सभापति लगायत युवा तथा विद्यार्थी नेताहरुले उहाँलाई भव्य स्वागत गर्नुभयो । काँग्रेस खोटाङको न्यानो आतिथ्यताले पुलकित भएका कोइरालाले खोटाङमा आएर पत्रकारहरुसँग पनि केही बोल्ने मनशाय राख्नुभयो ।
कोइरालाको इच्छा र चाहानापछि काँग्रेस निकट पत्रकार सङ्गठन नेपाल प्रेस युनियन खोटाङलाई पत्रकार जम्मा गर्ने उर्दी लगाइयो । प्रेस युनियनका जिल्ला सभापति उत्तम चौलागाईलाई फागुन २८ गते रातको नौँ बजे २९ गते शनिबार सबै पत्रकारहरुलाई हलेसीसम्म ल्याउने निर्देशन आयो ।
चौलागाई आफै २८ गते बेलुकीमात्र काठमाडौँबाट खोटाङ आइपुग्नुभएको थियो । दिनभरीको यात्राले थकित उनले पत्रकार व्यवस्थापनको जिम्मा पाएपछि रातारात साथीहरुलाई फोन गर्न थाल्नुभयो । सबैलाई फोन गर्दै जाँदा कसैकसैको पालो बिहानसम्म प¥यो ।
चौलागाईले फोनमा सबैलाई फरमान जारी गर्नुभयो । ‘भोलि शनिबार बिहान ८ बजे हलेसी जानुपर्ने छ । सबैलाई तयारी अवस्थामा रहनु ।’ उहाँले यतिमात्र गरेनन् केही अग्रज पत्रकारलाई ‘गाडीको व्यवस्था छ अगाडिको सिटमा तपाई बस्ने हो’ समेत भन्न भ्याउनुभयो ।
सबैभन्दा उमेरले पाको विचारले छिप्पिएका पत्रकार कृष्ण आचार्य, कान्तिपुर दैनिकका उप सम्पादक डम्बरसिं राई, हलेसी खबरका प्रधान सम्पादक भीम राई अगाडिको सिट पाउने भाग्यमानी भित्र पर्नुभयो । शनिबार दिक्तेलबाट हलेसी हिँड्ने बेला थाहा पाइयो ।
जसैतसै नुनथलामा चिया खाएर हलेसी त पुगि नै गइयो । पत्रकार सम्मेलनस्थल भने हलेसी महादेव मन्दिरको आगन खुल्ला ठाउँमा रहेछ । होटल हलेसी भिलेजमा चिया खान नसक्दै फेरी फरमान जारी भो । ‘कार्यक्रम स्थलमा चाँडो भेला हुनु प¥यो ।’
उर्दी मानेर सबै पुगियो । संयोगले नेपाल पत्रकार महासङ्घका अध्यक्ष दमन राई स–परिवार अगाडि नै पुगि सकेका रहेछन् । सबै नेताहरुको लाईन बसिसकेका ठीक अगाडि एक लाईन कुर्सी पत्रकारका लागि खाली । काँग्रेसका कुरा सुन्ने श्रोताहरुले आसन ग्रहण गरि सकेका रहेछन् ।
हलेसीमा आन्तरिक पर्यटकहरु केपिलासगढी गाउँपालिकाका प्रशासकीय अधिकृत छविलाल राई, जनसेवा समाज नेपालका हालका सामाजिक कार्यकर्ता तथा पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष उमेत राईको टोली पनि संयोगले भेटियो । केही छिनको भलाकुसारी पछि कार्यक्रम शुरु हुने भो छवि, उमेतको टोलीसँग विदा भइयो ।
यसैबीच, प्रेस युनियन खोटाङका पूर्व सभापति तथा पत्रकार दिलीप खत्रीले कार्यक्रम शुरु गर्नुभयो । कार्यक्रमको सभापति बन्नुभएका उत्तम चौलागाई र नेपाल पत्रकार महासङ्घका अध्यक्ष दमन राईको आसन ग्रहणको लहर नेताहरुसँगै छ । बाँकी पत्रकार ठीक अगाडि आमुन्ने सामुन्नेमा ।
नेता कोइरालाले विषय प्रवेश गराउनुभयो । उहाँले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छोटमा कुरा उठाउनुभयो । बाँकी पत्रकारलाई फ्लोर खुल्ला गर्छन् । नेता कोइरालाले शुरुमा आफ्नो विचार राख्नुभयो । उहाँले हलेसी महादेव मन्दिरको अगाडि पत्रकार सम्मेलन गर्न हलेसीको प्रचारप्रशारलाई सहयोग पु¥याउनु रहेको बताउँदै हलेसी तुवाचुङ नगरपालिकाको मात्र नभइ समग्र खोटाङको सामाजिक आर्थिक विकासको सारथी बन्ने बताउनुभयो ।
हलेसी दर्शनका लागि आउँदा पत्रकारहरुसँग भेटघाट गर्नुको अर्थ खुलाउँदै कोइरालाले राजनीतिक प्रसँग पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक रहेकोबाट शुरु गर्नुभयो । उहाँले पुस ५ को प्रतिनिधिसभाको विघटन गर्ने कदम असंवैधानिक रहेको, काँग्रेसले यसको विरोध गरेको, फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेको घटनाक्रम सुनाउनुभयो ।
यसपछि कोइरालाले आफ्नो मुल विषयमा प्रवेश गरे जस्ले फागुन ११ गतेको फैसला अनुसार फागुन २३ गते बसेको प्रतिनिधिसभाको बैठक चल्न नसकेको प्रशँग उठाउनुभएको थियो । उहाँले २३ गते संसद चल्न नसकेको विषयलाई लिएर अब मौजुदा संसदले निकास नदिने आफ्नो निष्कर्श राख्नुभयो । उहाँले अबको विकल्प निकासका लागि निर्वाचन मात्र विकल्प भएको बताउनुभयो ।
सर्वोच्च अदालतको दोस्रो फेसलाले देशलाई थप जटिलतामा धकेलेको उहाँको कुरा थियो । यस विचामा निर्वाचन आयोग अनिर्णयको बन्दि बनेको र आयोगले बेलैमा निकास दिएको भए अदालतको यो फैसला नआउने सम्भावना रहेको पनि बताउनुभयो । आफ्नो कुरा रोक्नुभयो । यसपछि पत्रकारहरुको जिज्ञासाको जवाफ दिने तरखर हुनुभयो । छलफलको क्रम शुरु भयो ।
पत्रकारहरुको प्रश्नमा वर्तमान राजनीतिक अवस्थामा काँग्रेसले खेल्ने भूमिकासँग सम्बन्धित थियो । योसँगै नेपाली काँग्रेसले आफूभित्रको आन्तरिक लोकतन्त्रलाई कसरी व्यवस्थापन गर्छ ? आउँदै गरेको काँग्रेसको १४ औँ महाधिवेशनमा शेखर कोइरालाको उम्मेदवारी के मा हुन्छ ? धर्म निरपेक्ष भइसकेको मुलुकमा हिन्दु राज्यको माग किन भइरहेको छ ? कोइराला परिवारको लिगेसीले शेखर कोइरालाहरुलाई कतिको काम गरेको छ ? जस्ता प्रश्नहरु पत्रकारहरुबाट उठाइयो ।
जवाफमा नेता कोइरालाले जिब्रो चपाउने किसिमको उत्तरहरु दिन थाल्नुभयो । उहाँले घुमाइ फिराइ अहिलेको संसदले काम गर्न नसक्ने अर्को चुनाव हुनुपर्ने विचार निरन्तर दिन थाल्नुभयो । कोइरालाका अनुसार विकसित राजनीतिक घटनाक्रम र पछिल्लो समय देखिएको चलखेल हेर्दा संसद चल्नै नसक्ने ठोकुवा गर्न सकिन्छ ।
अब मुलुकलाई अगाडि बढाउन निर्वाचनमात्र उत्तम विकल्प हो । तर, निर्वाचन गराउन अल्पमतको सरकार चाहिन्छ । वर्तमान ओली सरकार ७६ को दुई अनुसार बनेको हो । यसमा तत्कालीन माओवादी केन्द्रको समर्थन रहेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता नलिएसम्म सरकार ढल्दैन ।
ओली सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ । नेपाली काँग्रेस प्रतिपक्षमा भएकाले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्छ । सरकार ढल्छ ।
यसपछि भने कोइरालाले सरकार कस्को बन्छ भन्नेबारेमा धमिलो पानीमा खेल्न थाल्नुभयो । जसको पनि बन्छ । एमाले र काँग्रेसको पनि बन्न सक्छ । एमाले र जसपाको पनि बन्न सक्छ । माओवादी काँग्रेस र जसपाको पनि बन्न सक्छ । उहाँको यो अभिव्यक्तिले काँग्रेसको ठोस निर्णय भेटिन्न । अब काँग्रेस के गर्छ ? प्रश्नको उत्तर गायब हुन्छ । नेता कोइराला अल्पमतको सरकारको रटानमा मात्र अलमलाउने प्रयासमा हुन्छ । यसमा सन्तुष्ट हुने ठाउँ भेटिदैन ।
अर्को प्रश्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणाका बारेमा पनि उहाँले घुमाउरो उत्तर दिनुभयो । ‘मलाई प्रधानमन्त्री हुने रहर छैन । मैले पार्टी बनाउने हो ।’
तर। उहाँले म सभापतिको उम्मेदवार हुँ भन्न मान्दैनन् । पत्रकारहरुको केरकार बढ्छ । उनले सबैले बुझिसके तर, तपाईहरुले कसरी बुझ्नु भएन ? उल्टै प्रश्न गर्नुभयो । पत्रकारहरु सन्तुष्ट नभएपछि फेरि सोधिन्छ । उहाँले अन्तमा फ्याट्ट बोल्नुभयो, ‘आगामी महाधिवेशनमा पार्टी सभापति बाहेक अन्य पदमा उम्मेदवारी दिन्न ।’
पत्रकारहरुले अपेक्षा गरेको उत्तर प्राप्त ।