खोटाङ, ४ चैत । दिक्तेलमा शुरु भएको दोस्रो जिल्ला अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगितामा खोटाङ फुटबल एकेडेमीले विजयी शुरुवात गरेको छ । खोटाङ फुटबल एकेडेमीले आयोजना गरेकोे प्रतियोगिताको उद्घाटन खेलमा आयोजक केएफएले योङ ब्वाइज युनाइटेड फुटबल क्लवलाई शुन्यका विरुद्ध एक गोल गर्दै विजयी शुरुवात गरेको हो ।
केएफएले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको थियो । ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथमा आयोजना गरिएको प्रतियोगितामा १३ समूहको सहभागिता छ ।
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरीङ शेर्पाले गर्नुभएको छ । उद्घाटनको अवसरमा एकेडेमीको आफ्नै गीत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले सार्वजनिक गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंसहित केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रथम हुने समूहले रु ८८ हजार ८८८, दोस्रो हुनेले रु ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई समूहले प्रति समूह रु २२ हजार २२२ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । विद्यागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता, प्रशिक्षकलाई जनही रु पाँच हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई रु सात हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाणपत्र र म्यान अफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैँजूले बताउनुभयो । यस वर्षको सँस्करणमा खोटाङ फुटबल एकेडेमी पत्रकारिता पुरस्कार पत्रकार चिसाङ शेर्पालाई प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलकुदको अभियान खोटाङको पहिचान भन्ने नाराका साथमा २०७३ सालमा स्थापना भएको एकेडेमीले गतवर्षदेखि जिल्ला अन्तर क्लबस्तीय पुरुष फुटबल प्रतियोगिता गराउदै आएको छ । पहिलो सँस्करणमा आयोजक नै प्रथम भएको थियो ।
यसैबीच, माटिकोरे खेलमैदान नजिक निर्माण हुने फुटसल सेन्टरका लागि सोही ठाउँका स्थानीय बासिन्दाले निःशुल्क जग्गा दिने घोषणा गरेका छन् । स्थानीय विष्णुमाया खत्री, पोस्टकबहादुर खत्री र रामबहादुर खत्रीले फुटसल सेन्टरका लागि आवश्यक जग्गा निःशुल्क दिने घोषणा गर्नुभएको हो ।
जग्गा प्राप्त भएपछि फुटसल सेन्टरको बुधबार नै एन्फा अध्यक्ष शेर्पाले शिलान्यास गर्नुभएको छ । जग्गादान गर्ने दाताहरुलाई एन्फा अध्यक्ष शेर्पा र नगरप्रमुख रिजाल लगायतले सम्मान गर्नुभएको थियो ।
यसै वर्षबाट निर्माण शुरु हुने उक्त फुटसल सेन्टरका लागि एन्फाको तर्फबाट रु दुई लाख तथा आफ्नो व्यक्तिगत रु एक लाख सहयोग गर्ने अध्यक्ष शेर्पाले घोषणा गर्नुभएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष शेर्पालाई शेर्पा सङ्घ खोटाङले सम्मानसमेत गरेको छ ।