खोटाङ, ६ चैत । ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न खोटाङका दुई स्थानीय तह र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बीच सम्झौता भएको छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न एन्फासँग सम्झौता गरिएको हो ।
फुटबलको व्यवसायिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ एन्फाको रणनीतिक योजना अनुसार विद्यालयमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको एन्फाका कर्माछिरीङ शेर्पाले बताउनुभएको छ । सहमति–पत्रमा नगरपालिकाले नगरभित्र फुटबल खेलको लागि आवश्यक पूर्वाधारको विकास तथा निर्माण गर्नका लागि बजेटको व्यवस्था गरी नगरभित्रका खेल शिक्षक र छात्र÷छात्रालाई प्रशिक्षणको वातावरण सिर्जना गर्ने, एन्फाले खेलकुद सामग्री र प्राविधिक सहयोग तथा अन्य कार्यक्रमको लागि वातावरण सिर्जना गर्ने उल्लेख छ ।
आर्थिक वर्ष २०७६÷०७७ देखि प्रशिक्षक नियुक्ती गरेर फुटबल र सितोरियो कराँतेको प्रशिक्षण सञ्चालन गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाले पुनः एन्फासँगको समझदारीमा विद्यालय–विद्यालयमै ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आयोजना गरेको अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता उद्घाटन गर्न खोटाङ आउनुभएको अवसरमा एन्फा अध्यक्ष शेर्पासँग दुवै नगरपालिकाले ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सहमति गरेको हो ।
यस्तै, खोटाङ फुटबल सङ्घले नगरभित्रका विद्यालयसँग समन्वय गरी एन्फाको नीति, नियम, योजना अनुसार कार्य र अनुगमन तथा निरीक्षण गरी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने तथा ओम शिवशक्ति युवा समूह हलेसीले एन्फाको नीति, नियम, निर्देशन अनुसार सम्बन्धित सबैसँग समन्वय गरी उक्त कार्यक्रम सञ्चालन गर्ने गराउने सहमती कायम भएको छ ।
सहमपति–पत्रमा एन्फाका अध्यक्ष शेर्पा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवविक्रम राई, खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नूरकाजी सैँजू र ओम शिवशक्ति युवा समूहका अध्यक्ष नविन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । ग्रासरुटको फुटबल विकासका लागि खोटाङका दुई नगरपालिका र एन्फाबीच भएको सम्झौता देशकै पहिलो भएको अध्यक्ष शेर्पाले बताउनुभएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा फुटबल खेलको विकास गर्न सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा खेलमैदान निर्माण तथा प्रशिक्षणको गतिविधि सञ्चालन गरिरहेका छन् । खेलमैदान निर्माण भइसकेका ठाउँहरुमा खेलकूद गतिविधि सञ्चालन हुन थालेपछि खेलाडीहरुसमेत लाभान्वित छन् ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि सबै स्थानीय तहमा खेलमैदानका साथै भौतिक निर्माणको काम धमाधम भइरहेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै वडामा निर्माणाधीन खेलमैदानको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
उता, हलेसी तुवाचुुङ नगरपालिकामा पनि सबै वडामा खेलमैदान निर्माणको काम भइरहेको जनाइएको छ । जिल्लाका अन्य स्थानीय तहका अधिकांश वडामा फुटबल खेलमैदान निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।