खोटाङ, ८ चैत । दिक्तेलमा जारी दोस्रो अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगितामा बाहुनीडाँडा फुटबल क्लब र युवा जागरण स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेकोे फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएको सेमीफाइनल खेलमा आयोजक केएफएलाई शुन्यका विरुद्ध एक गर्दै बाहुनीडाँडा र नेर्पा स्पोर्टस् क्लब नेर्पालाई शुन्यका विरुद्ध एक गोल गर्दै युवा जागरण स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको हो ।
दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सञ्चालित प्रतियोगितामा फाइनल प्रवेश गर्ने दुवै क्लबले दोस्रो हाफको अन्तिम समयमा एक÷एक गोल गरेका थिए । गत चैत ४ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल भोलि सोमबार साँढे १२ बजे हुने खेल संयोजक श्यामकुमार पौडेलले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले रु ८८ हजार ८८८, दोस्रो हुनेले रु ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई समूहले प्रति समूह रु २२ हजार २२२ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । विद्यागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र प्रशिक्षकलाई जनही रु पाँच हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट खेलाडीलाई रु सात हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाणपत्र तथा म्यान अफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैँजूले बताउनुभएको छ । यस वर्षको सँस्करणमा प्रदान गरिने ‘खोटाङ फुटबल एकेडेमी पत्रकारिता पुरस्कार’ पत्रकार चिसाङ शेर्पालाई प्रदान गरिने आयोजकले जनाएको छ ।
‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको थियो । जिल्लाका खेलाडीमात्र सहभागी गराइएको प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरीङ शेर्पाले गर्नुभएको थियो ।
प्रतियोगिता उद्घाटन कार्यक्रमको अवसरमा एकेडेमीको आफ्नै गीतसमेत सार्वजनिक गरिएको छ । ‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नाराका साथमा २०७३ सालमा स्थापना भएको एकेडेमीले गत वर्षदेखि जिल्लामा अन्तर क्लबस्तीय पुरुष फुटबल प्रतियोगिता गराउँदै आएको छ ।
यसैबीच, दिक्तेलको माटिकोरे खेलमैदान नजिक निर्माण गर्न लागिएको फुटसल सेन्टरका लागि सोही ठाउँका स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । स्थानीय विष्णुमायाँ खत्री, पोस्टकबहादुर खत्री र रामबहादुर खत्रीले फुटसल सेन्टरका लागि आवश्यक जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।
एकेडेमीको नाममा प्राप्त जग्गामा निर्माण गरिने फुटसल सेन्टरको शिलान्यास एन्फा अध्यक्ष शेर्पाले गर्नुभएको छ । जग्गा दान गर्ने दाताहरुलाई एन्फा अध्यक्ष शेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
यसै वर्षबाट निर्माण शुरु हुने उक्त फुटसल सेन्टरका लागि एन्फाको तर्फबाट रु दुई लाख तथा आफ्नो व्यक्तिगत रु एक लाख सहयोग गर्ने अध्यक्ष शेर्पाले घोषणा गर्नुभएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष शेर्पालाई शेर्पा सङ्घ खोटाङले सम्मानसमेत गरेको थियो ।