हरमटारमा चैत २१ र दिक्तेलमा चैत २६ गतेदेखि निःशुल्क आँखा उपचार शिविर

Halesi Khabar
0 Shares

खोटाङ, ८ चैत । आँखाका बिरामीलाई लक्षित गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार र रावाबेँसी गाउँपालिकाको हरमटारमा निःशुल्क आँखा उपचार शिविरको आयोजना गरिएको छ । आँखाका विभिन्न समस्याबाट पीडित भएका बिरामीको उपचारका लागि आँखा उपचार केन्द्र दिक्तेल र रावाबेँसी गाउँपालिकाको केन्द्र कुभिन्डेस्थित हरमटारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिविर सञ्चालन गर्ने तयारी गरिएको हो ।

हरमटारमा आगामी चैत २१ गतेदेखि २३ गतेसम्म र आँखा उपचार केन्द्र दिक्तेलमा चैत २६ देखि २८ गतेसम्म निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिविर सञ्चालनको तयारी गरिएको नेपाल नेत्र ज्योती सङ्घ खोटाङका सभापति ईन्द्र कसजूले बताउनुभयो । पाट्नर्स फर इक्विटी, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग एवम् सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योती सङ्घले आँखा उपचार शिविरको तयारी गरेको हो ।

दुई स्थानमा सञ्चालन हुने शिविरमा कम्तिमा २०० जनाको आँखाको शल्यक्रीया गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । शिविरमा सहभागी आँखाका बिरामीलाई औषधि तथा निःशुल्क औषधि वितरण गरिने जानकारी दिइएको छ ।

यसैबीच, ४२ औँ नेत्र ज्योती दिवस तथा नेपाल पत्रकार महासङ्घको ६६ औँ स्थापना दिवसको अवसरमा दिक्तेलमा ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिविर सञ्चालन गर्ने निर्णय गरिएको छ । नेपाल नेत्र ज्योती सङ्घ, नेपाल पत्रकार महासङ्घ र ज्येष्ठ नागरिक सङ्घको आइतबार बसेको बैठकले सहकार्य गरेर आगामी चैत १३ गते ज्येष्ठ नागरिकको आँखा जाँच शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।

आँखा जाँचका क्रममा भेटिएका आँखाको शल्यक्रीया गर्नुपर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई आगामी चैत २६ देखि २८ गतेसम्म आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन हुने निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिविरमा बोलाइने जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि जनसेवा समाज नेपालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सबैभन्दा बढी आँखाका बिरामी भेटिएका थिए ।

तपाईको प्रतिक्रिया