अन्तर क्लबस्तरीय फुटबलको उपाधि युवा जागरण क्लब दिक्तेललाई

Halesi Khabar
0 Shares

खोटाङ, ९ चैत । दिक्तेलमा सम्पन्न दोस्रो अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि युवा जागरण स्पोर्टस् क्लब दिक्तेलले चुमेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा बाहुनीडाँडा फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोल गर्दै युवा जागरण फुटबल क्लब दिक्तेलले प्रतियोगिताको प्रथम उपाधि चुमेको हो ।

प्रतियोगिताका प्रथम उपाधि चुम्ने युवा जागरण फुटबल क्लबले रु ८८ हजार ८८८ तथा दोस्रो हुने बाहुनीडाँडा फुटबल क्लबले रु ४४ हजार ४४४ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका सेमिफाइनलिस्ट दुई समूह खोटाङ फुटबल एकेडेमी (केएफए) र नेर्पा स्पोर्टस् क्लब नेर्पाले प्रति समूह रु २२ हजार २२२ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विद्यागततर्फ उत्कृष्ट गोलरक्षकमा युवा जागरण क्लबका नवीन पोखरेल, उत्कृष्ट डिफेण्डरमा बाहुनीडाँडाका शम्भु माझी, उत्कृष्ट मिड फिल्डरमा नेर्पाका सन्तोक राई र उत्कृष्ट प्रशिक्षकमा युवा जागरणका राजु आचार्य घोषित भएका छन् । उनीहरुलाई जनही रु पाँच हजार नगदको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्यामकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगिता अवधिभरका सर्वोत्कृष्ट खेलाडीमा युवा जागरण फुटबल क्लबका आयान राई घोषित भएको र राईलाई रु सात हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन एशियन फाईफुट्स प्रा.लि. तथा दोस्रो पुरस्कारको प्रायोजन उद्योग वाणिज्य सङ्घ र हिमाली क्लब दिक्तेलले गरेको आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)का अध्यक्ष नूरकाजी सैँजूले जानकारी दिनुभयो ।

यस वर्ष आयोजना गरिएको दोस्रो सँस्करणमा जिल्लामा क्रियाशील एक जना पत्रकारलाई समेत पुरस्कृत गरिएको छ । ‘खोटाङ फुटबल एकेडेमी पत्रकारिता पुरस्कार’ नाम दिइएको छ हजार ६६६ राशीको पत्रकारिता पुरस्कार पत्रकार चिसाङ शेर्पालाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको थियो । प्रायोजक तथा चन्दा सङ्कलनबाट आयोजना गरिएको प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरीङ शेर्पाले गर्नुभएको थियो ।

 

जिल्लाका खेलाडीमात्र सहभागी गराइएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा एकेडेमीको आफ्नै गीतसमेत सार्वजनिक गरिएको छ । ‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नाराका साथमा २०७३ सालमा स्थापना भएको एकेडेमीले गत वर्षदेखि अन्तर क्लबस्तीय पुरुष फुटबल प्रतियोगिता गराउँदै आएको छ ।

यसैबीच, प्रतियोगिता समापन कार्यक्रममा आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ खोटाङ र एकेडेमीका भेट्रान समूहबीच भएको मैत्रीपूर्ण खेलमा भेट्रान समूह विजयी भएको छ । निर्धारित समयमा दुवै समूहको गोल नभएपछि सडेन डेथमा गएर एकेडेमीका भेट्रान समूह विजयी भएको हो ।

तपाईको प्रतिक्रिया