भारतले नेपालको थप ३५ हेक्टर जमिन मिच्दा सरकार किन मौन ? : दीलेन्द्र बडु

Halesi Khabar
0 Shares

काठमाडौँ, १० चैत । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलाको ३५ हेक्टर जमिन भारतले लगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उहाँले दार्चुला सदरमुकाम महाकाली नगरपालिका वडा नं. ५ गैल्फै गाउँ पारी भारत सरकारले नेपाल सरकारको जानकारी बिना नेपालको जमिन समेटेर तटबन्ध बनाइरहेको जानकारी गराउनुभयो ।

उहाँले त्यहाँको सिडियोले भारतीय पक्षलाई पत्राचार गरे पनि सुनुवाई नभएको, स्थानीयले विरोध गर्दा पनि नरोकिएको बताउँदै गृह मन्त्रालयलाई ध्यानाकर्षण गराए पनि सुतेर बसेको आरोप लगाए । सरकार बेखबर रहेको र मौन सहमति देखाइरहेको उहाँको भनाई छ । सांसद बडुकाअनुसार महाकाली नदीमा २०७० साल असारमा भीषण बाढी आएको र बाढीले नदीको धार परिवर्तन गर्दा १ हजार ४७ रोपनी जमिन भारततिर गएको छ ।

खोलाको धार परिवर्तन भएर ३५ हेक्टर जमिनमा रहेको मन्दिर सामुदायिक वन समेत भारतले आफ्नो क्षेत्रभित्र पार्दै तटबन्ध लगाइरहेको छ । धौलीगंगा हाइड्रोपावरको बाँध फुटेर बजार क्षेत्र र वन क्षेत्र पनि सखाप पारेको छ ।

सन् २०१३ मा संयुक्त रुपमा तटबन्ध गर्ने सहमति भए पनि अहिले भारतले एकतर्फी तटबन्ध गरिरहेको छ । उहाँले अन्तर्राष्ट्रिय कानुनअनुसार पनि प्राकृतिक सीमा पहिले जता थियो त्यतै हुनुपर्ने माग गर्नुभयो ।

सांसद बडुले भोलि बाढी पहिरो आउँदा थप क्षति हुने अवस्था रहेको उल्लेख गर्दै दार्चुलाकै सांसद गणेश सिंह ठगुन्ना अहिलेको सरकारको मन्त्री भएपनि यो विषयमा ध्यान नदिएको उल्लेख गर्नुभयो । सांसद बडुले हाम्रो भूमि बचाउने कुरामा पनि सरकारले किन ध्यान नदिएको भनेर प्रश्न गर्नुभयो ।

लाजपूर्जा नेपालको भएपनि जमिन भारतको हातमा परेको बताउँदै सो क्षेत्रका जनता बेघरबार हुने अवस्था आएको उल्लेख गर्नुभयो । भारतले एकतर्फी बाँध बनाउँदा पनि सरकारले किन ध्यान नदिएको, परराष्ट्र मन्त्रालय के गर्दैछ भनेर प्रश्न गर्दै भारतको एकतर्फी तटबन्ध रोक्न माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया