सत्ता सहकार्यको विषयमा एमाले र जसपाबीचको वार्ता निष्कर्षविहीन

Halesi Khabar
0 Shares

काठमाडौँ, १० चैत । सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच मंगलबार बालुवाटारमा छलफल भएको छ । दुई दलबीच सत्ता सहकार्यबारे कार्यदल स्तरमा छलफल भएपनि कुनै सहमति हुन नसकेको बैठकपछि नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता, लाल आयोगको प्रतिवेदन कार्यान्वयन लगायतको विषयमा छलफल भएपनि कुनै सहमति नभएको कार्यदलका सदस्य समेत रहेका कर्णले बताउनुभयो ।

यद्यपि, छलफललाई निरन्तरता दिने सहमति भएको उहाँले बताउनुभयो । वार्ताका लागि गठन भएको कार्यदलमा सरकारको तर्फबाट सुवास नेम्वाङ, डा.राजन भट्टराई र विष्णु पौडेल रहेका छन् भने जसपा नेपालको तर्फबाट कर्णसहित सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएपछि सत्ता जोगाउन उहाँले जसपा नेपाललाई मनाउने प्रयास गर्दै आउनुभएको छ । जसपा नेपालले आफूहरुको माग पुरा भएपछि मात्र सरकारमा जाने अडान लिएका छन् ।

सोही अडानको विषयमा सरकार र जसपा नेपालबीच पटक पटक छलफल हुँदै आएको छ । मङ्गलबार भएको दुई पक्षीय वार्ता निष्कर्ष विहिन भएपछि नयाँ सरकार गठनको विषय झनै अन्यौलमा परेको छ ।

तपाईको प्रतिक्रिया