सम्झौता अवधिभन्दा दुई महिनाअघि नै ठडियो आयुर्वेदको भवन

Halesi Khabar
0 Shares

खोटाङ, १० चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन निर्माण कम्पनीले सम्झौता अवधिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । सम्झौता अनुसार आगामी जेठ १६ गते सक्नुपर्ने भवनको काम निर्माण कम्पनी प्रतिष्ठा कन्ट्रक्सन प्रा.लि. काठमाडौँले यहि चैत पहिलो हप्ता सम्पन्न गरेर मङ्गलबार औपचारिक रुपमा स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो ।

निर्माण कम्पनी र आयोजनाबीच वि.सं. २०७८ जेठ १६ गते सक्नेगरी २०७६ जेठ १६ गते सम्झौता भएकोमा दुई महिना अगाडि नै निर्माणको सम्पूर्ण काम सम्पन्न गरेर आयुर्वेदलाई हस्तान्तरण गरिएको ठेकेदार कम्पनी प्रतिष्ठा कन्ट्रक्सन प्रा.लि.का प्रतिनिधि भीषण राईले बताउनुभयो । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु सात करोड ३६ लाख २१ हजार १७९ लागतमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्य टोलमा निर्माण गरिएको हो ।

निर्माण कम्पनीका प्रतिनिधि राईले तीनतले पक्की भवनको चाँबी आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख अजयकुमार झालाई हस्तान्तरण गर्नुभएको छ । नवनिर्मित आयुर्वेद स्वास्थ्य केन्द्र भवनको पहिलो तलामा १२ कोठा, दोस्रो तलामा हलसहित पाँच कोठा र तेस्रो तलामा दुई आवास गृहसहित आठ कोठा रहेको शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका ईन्जिनियर विनोद सिंहले बताउनुभयो ।

केन्द्रलाई हस्तान्तरण गरिएको भवन जिल्ला समन्वय समितिका प्रमुख एवम् आयुर्वेद सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङले मुलद्धारको रिवन काटेर उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख चाम्लिङले विकासे कामको बल्ल महशुष गर्न पाइएको बताउनुभयो ।

भवन निर्माणका लागि स्थानीय पदम आचार्य, पर्शु आचार्य र मीना आचार्यले एक रोपनी ५ आना, दृपनारायण आचार्यले चार आना, टंकप्रसाद आचार्यले एक रोपनी, रामप्रसाद आचार्यले चार आना, बोलराज आचार्यले दुई आना र स्थानीय बासिन्दाहरुले चन्दा उठाएर खरिद गरेको एक रोपनी एक आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । आचार्य टोलमा निर्माण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन जिल्लास्थित सरकारी कार्यालयहरुमध्ये सबैभन्दा ठूलो भवन हो ।

आफ्नो कार्यालय भवन अभावमा दिक्तेलस्थित सरस्वती मावि अगाडि भाडाको घरमार्फत सेवा प्रवाह गर्दै आएको आयुर्वेद स्वास्थ्य केन्द्र केहि समयपछि आफ्नै भवनमा सर्ने केन्द्र प्रमुख झाले बताउनुभयो । नवनिर्मित भवनमा सेवा प्रवाहका लागि आवश्यक उपकरणहरु जडान गरेर आगामी वैशाख पहिलो साताभित्रमा आफ्नै भवनबाट सेवा शुरु गर्ने तयारी गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाका अधिकांश योजनाका काम तोकिएको मितिमा सम्पन्न नभइ रहेको अवस्थामा प्रतिष्ठा कन्ट्रक्सन प्रा.लि.का प्रतिनिधि राईले समयअवधि अगाडि सम्पन्न गरेर उदाहरणीय काम गर्नुभएको छ । दश स्थानीय तह रहेको जिल्लामा अधिकांश भौतिक पूर्वाधार निर्माणका योजनामा ठेकेदार कम्पनीको लापरवाहीका कारण योजनाहरु अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया