काठमाडौँ, १२ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रेशम चौधरीको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गर्नुभएको छ । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई बिहीबार माइतीघर मण्डला पुगेर थापाले यस्तो बताउनुभएको हो ।
विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गर्नुभएको थियो । थारु कल्याणकारिणीसभाको अगुवाईमा बसेको धर्नास्थलमा पुगेका गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गर्नुभएको हो ।
गृहमन्त्री थापाले यसबारे वार्ताकै माध्यमबाट समास्यमा समाधान गर्नुपर्ने बताउनुभएको छ । धर्नामा बसेका सभाका महामन्त्री प्रेमीलाल चौधरीले टीकापुर घटना राजनीतिक मुद्दा भएकाले यसलाई फौजदारी मुद्दाको व्यवहार गर्नु नहुने बताउनुभयो ।
विरोध कार्यक्रम थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको हो । सरकारले विप्लव र सीके राउतलाई मूल धारमा ल्याएको तर पहिचान तथा अधिकारको लडाइँ भएको टीकापुर घटनामा सांसद रेशम चौधरीसहितलाई मुद्दा लगाएको भन्दै धर्ना चौधरीको रिहाइको माग गर्दै माइतीघरमा थारु अगुवाहरुले धर्ना दिँदै आएका छन् ।
धर्ना दैनिक एक घन्टा आयोजना गरिँदै आएको छ । आफ्नो माग मुद्दा सुनुवाइका लागि सभाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाइसकेको छ ।
२०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै गत आइतबारदेखि धर्ना दिँदै आएका हुन् । जनता समाजवादी पार्टीका सांसाद चौधरीको रिहाइका लागि पछिल्लो समय सत्ता सहकार्यबारे जसपाले रिहाई हुुनुपर्ने विषयलाई प्रमुख सर्त बनाएको छ ।