खोटाङ, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङको पार्टी कार्यालय स्थापना गरिएको छ । गत फागुन–२३ गते सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) ब्यूँताइदिएपछि बिहीबार दिक्तेलस्थित भवनगैरामा पार्टी कार्यालयको स्थापना गरिएको हो ।
भवनगैरामा स्थापना गरिएको पार्टी कार्यालय माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभयो । चैत ११ र १२ गतेको जिल्ला कमिटिको विस्तारित बैठकपछि कार्यालयको स्थापना गरिएको पार्टी अध्यक्ष देवान किराँती ‘पृथ्वी’ले बताउनुभयो ।
कार्यालय स्थापनासँगै अब पार्टीको सम्पूर्ण गतिविधि पार्टी कार्यालयबाट सञ्चालन हुने जनाइएको छ । यस्तै, विस्तारित बैठकले सवै कमिटिहरु पुनः गठन गर्न नेता कार्यकर्ताहरु पालिकामा खट्ने निर्णय पनि गरेको छ ।
बैठकले दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा संयोजक पनि तोकेको जनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विशन राई र हलेसी तुवाचुङ नगरपालिकामा गोपाल दाहाललाई संयोजक तोकेको छ ।
बराहपोखरी गाउँपालिकामा ताराकान्त राई, जन्तेढुङ्गा गाउँपालिकामा बद्री राई, खोटेहाङ गाउँपालिकामा ईन्द्र नारथुङगे, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा राजेन्द्र राई, साकेला गाउँपालिकामा मोहन खत्री, केपिलासगढी गाउँपालिकामा रामकाजी राई, रावाबेँसी गाउँपालिकामा राजन मगर र ऐसेलुखर्क गाउँपालिकामा रमेशराज भण्डारीलाई पालिका संयोजक तोकिएको जनाइएको छ ।