खोटाङ, १५ चैत । नेकपा एमाले खोटाङमा गठन गरिएको समानान्तर कमिटिको गतिविधि सतहमै देखिन थालेको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि माओवादी केन्द्र एक ढिक्का भएर अघि बढ्दा एमालेमा भने समानान्तर कमिटिको गतिविधि बाक्लो हुन थालेको छ ।
एमाले जिल्ला कमिटि खोटाङको अध्यक्षको हैसियतमा बबि चाम्लिङले जिल्ला कमिटिको बैठक बोलाएकोप्रति अर्का अध्यक्ष रामप्रसाद दंगालले गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । अध्यक्ष दंगालले विज्ञप्ती जारी गर्दै नेकपा एमाले जिल्ला कमिटिको अस्तित्व समाप्त पार्ने, कम्यूनिष्ट आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले पार्टीको विद्यान विपरित कुनै भेला, सम्मेलन वा बैठकको आयोजना नगर्न र पार्टीलाई कमजोर बनाउने गतिविधिमा संलग्न नहुन सचेत गराउनुभएको छ ।
अध्यक्ष चाम्लिङको अध्यक्षतामा शुक्रबार दिक्तेलमा बसेको बैठकले ६७ सदस्यीय जिल्ला कमिटि विस्तार गरेपछि अर्का अध्यक्ष दंगालले आपत्ति जनाउनुभएको छ । “पार्टीमा गुटबन्दि गर्ने, अन्य पार्टीको इसारामा आफ्नो पार्टी, पद्धति, आन्दोलनलाई ध्वस्त पार्ने प्रयत्न पार्टी पद्धतिको गम्भीर उल्लंघन हो भन्ने हाम्रो ठहर छ”, शनिबार राति जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “यस्ता गविविधिहरुमा संलग्न नहुन पार्टीका सबै नेता कार्यकर्तालाई पार्टी कमिटि अनुरोध गर्दछ ।”
पार्टीको विधि र पद्धति विपरित गतिविधि जारी राखे पार्टीको विधान बमोजिम अघि बढ्ने विज्ञाप्तीमा चेतावनी दिइएको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि गत फागुन २५ गते एमालेका तत्कालिन उपाध्यक्ष दंगाललाई एक पक्षले जिल्ला अध्यक्षमा मनोनयन गरेपनि तत्कालिन अध्यक्ष चाम्लिङले सो निर्णय अस्वीकार गर्दै आएका छन् ।
एमाले ब्यूँतिएको अवस्थामा हालसम्म पदबाट राजीनामा नदिएको र हालसम्म कुनैपनि जिल्ला अधिवेशन नभएकाले आधिकारिक अध्यक्ष आफै रहेको दावी गर्दै आएका चाम्लिङको अध्यक्षतामा बसेको बैठकले एमाले जिल्ला कमिटि उपाध्यक्षमा बम खत्री, सचिवमा जलसेर राई, उप–सचिवमा अकिल राई र आर्थिक विभाग प्रमुखमा राजनप्रसाद आचार्यलाई चयन गरेको सार्वजनिक भएको थियो । चाम्लिङ हाल नेपाल–खनाल निकट र दंगाल ओली निकटका हुन् ।
साविकको एमालेको २०७२ वैशाख १३ गते सम्पन्न छैठौँ जिल्ला अधिवेशनबाट चाम्लिङ अध्यक्ष र दंगाल उपाध्यक्षमा चुनिएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कमिटि विस्तारका क्रममा साविकको एमालेको भागमा सचिव परेपछि तत्कालिन अध्यक्ष चाम्लिङले समन्वय समिति प्रमुख तथा प्रदेश कमिटि सदस्य रहेको कारण देखाउँदै सचिवबाट राजीनामा दिएपछि दंगाललाई अध्यक्षमा अघि सारिएको थियो ।
सर्वोच्चले एमालेलाई ब्यूँताएकाले एमालेको तत्कालिन जिल्ला कमिटि अध्यक्ष स्वतः आफूकायम रहेको चाम्लिङको दाबी छ भने जिल्ला कमिटिको बैठकबाट आफू अध्यक्ष बनेको दंगालले दावी गर्दै आएका छन् । हाल चाम्लिङलाई अध्यक्ष मान्ने र दंगाललाई अध्यक्ष मान्ने नेता तथा कार्यकर्ताको ध्रुविकरण भएपछि एमालेको समस्या पेचिलो बन्दै गएको छ ।