वडा कार्यालय तालाबन्दी प्रकरण : वडाध्यक्ष पाखुरा सुर्काउने, सदस्य ढुङ्गा वर्षाउने

Halesi Khabar
0 Shares

–भीम राई
केही समय अगाडि ऐसेलुखर्क गाउँपालिकाको वडा नं. २ बाकाचोलको वडा कार्यालयमा स्थानीय समुदायले ताला लगाए । ताला लगाएको खबर सदरमुकाम दिक्तेलमा समेत आयो । बाकाचोलको बिस्कामखोला मुहानबाट वडा न ३ सम्म पानी ल्याउने डिपिआर तयार भएको विषयलाई लिएर विवादको मुल विषय रहेको थियो ।

केही समय अगाडि संघीय सरकारको तर्फबाट ऐसेलुखर्क गाउँपालिकाको निवेदनको आधारमा बिस्कामखोला मुहानबाट खानेपानी आयोजना सञ्चालन गर्नेगरी गोप्यरुपमा डिपिआर तयार पारिएको स्थानीय सरोकार समुहको आरोप थियो । घटनाक्रम केही महिना अगाडिकै हो । त्यसबेला सरोकार समितिका केही अगाुवाहरुले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ध्यानाकर्षण पत्र आएपछि गाउँपालिका प्रमुख विश्वनाथ निरौला, उपप्रमुख पुष्पकला भुजेल, वडा नं २ का वडाध्यक्ष शन्तवीर तामाङ लगायतको टोलीसँग छलफल समेत भएको थियो । छलफलका क्रममा उक्त मुहानको पानी कुनै हालतमा ऐसेलुखर्क नल्याइने बताइयो र आश्वासन पनि बाँडियो । सरोकारवालाहरु पछाडि हटे ।

तत्काललाई आन्दोलन ट¥यो । त्यसबेला सरोकारवालाहरुले उठाएको विषय बिस्कामखोलाको मुहानबाट पानी अन्यत्र लैजाँदा पानीको शिर कट्टा हुने, खेतीयोग्य जमिनहरुमा सिचाइँको अभाव हुने, स्थानीय समुदायले बालीरहेको लघुजलविद्युत्त आयोजनामा असर पुग्ने भएकाले सो पानीको मुहान दिन नमिल्ने उनीहरुको माग रहेको थियो । उनीहरुले उक्त खानेपानीको डिपिआर तयार पार्दा गाउँपालिका प्रमुख र वडाध्यक्षले आफूखुशी गरेको समेत आरोप लगाएका थिए ।

आरोप प्रत्यारोपको बीचमा गाउँपालिकाबाट कुनै पनि हालतमा बिस्कामखोला नचलाउने भनेपछि मत्थर भएको स्थानीय सरोकारवालाहरु चुपै लागेर बसेका थिए । पछिल्लो समयमा आयोजनाको डिपिआर सकिएको आयोजना लगभग रु तीन करोडको आयोजनाको पहिलो किस्ता बापत रु ५० लाख रकम निकासा भयो । यो थाहा भएपछि फेरी सरोकारवालाहरु तातिए । यस पटक भने उनीहरुको अर्को पनि माग थपियो ।

उनीहरुले बिस्कामखोलाको पानी त कुनै हालतमा नदिने भन्ने छँदै थियो । यहि मेसोमा संघीय संसदको संसदीय विकास कोषमार्फत बादेल–बिस्काम सडकमा परेको रु दश लाखको उपभोक्ता समिति गठनको पनि प्रश्न उठाए । यो सडक निर्माण गर्न वडाध्यक्ष शन्तवीर तामाङले एकलौटी सुर्यबहादुर राईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेकाले खारेज हुनुपर्ने उनीहरुको दुईवटा माग सतहमा देखियो ।

सरोकारवाला समिति गठन गरेर स्थानीयले चैत्र ४ गते दुई बुदे माग पत्रसहित गाउँपालिकामा संयुक्त निवेदन दिए । जिल्ला प्रशासन कार्यालय खोटाङ, जिल्ला समन्वय समिति खोटाङ र इलाका प्रहरी कार्यालय ऐसेलुखर्कलाई बोधार्थ दिएर निवेदन गाउँपालिका प¥यो । गाउँपालिका प्रमुख निरौला गाउँपालिकाभन्दा बाहिर भएकाले तत्काल छलफल हुन सकेन ।

गाउँपालिका प्रमुख निरौला गाउँपालिकामा फर्कीएपछि चैत्र ११ गते सरोकारवालाहरुलाई सम्बोधन गर्दै गाउँपालिकाले छलफलका लागि आव्हान ग¥यो । चैत १२ गते छलफलमा उपस्थित हुन पत्र पठाएको जानकारी बोधार्थका रुपमा जिल्ला प्रशासन कार्यालय, खोटाङ, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क र २ नम्बर वडा कार्यालय बाकाचोललाई समेत गाउँपालिकाले पत्र पठायो ।

तर, चैत्र ११ गते लेखिएको पत्र स्थानीय सरोकारवालाहरुको हातमा पुगेन । ११ गते पत्र लेखेर १२ गते वार्तामा बोलाइएको पत्र बोधार्थका रुपमा पठाइएका सबै कार्यालयमा पुग्यो । तर सरोकारवालाहरुलाई आधिकारिक कुनै जानकारी नपुगेपछि उनिहरु आक्रोशित बन्न पुगे । उनीहरुले कुनै हालमा आफ्नो माग पुरा गराई छाड्ने दाउँमा लागे ।

गाउँपालिकाले आफुले खबर गरेपछि पनि सरोकारवालाहरु नआएको भन्दै ताला खोल्ने योजना बनायो । यसैबीच, वडाकार्यालयको तर्फबाट बाकाचोलमा सरोकारवाला बाहेकका मानिसहरु जम्मा गरेर एउटा कार्यक्रम गर्ने वडाध्यक्ष तामाङले योजना बनाए । चैत्र १४ गते उनीहरुले ताला पनि खुल्ला गर्ने र केही सार्वजनीक भाषण÷भुषणको पनि कार्यक्रम राखेपछि सरोकारवालाहरु आक्रोशित भएका थिए ।

चैत १४ गते शनिबार परेकाले सरोकारवालाहरुले स्थानीय चित्रे भञ्ज्याङमा यातायातको साधनलाई अवरोध गर्ने आन्दोलनको कार्यक्रम राखे । सबै व्यवसायीहरुलाई खबर गरेरै उनीहरुले सवारी साधन नल्याउन भने । दुवैतीर कार्यक्रमको तयारी भएपछि अवस्था झडपको हुने आशंकामा ऐसेलुखर्कमा सुरक्षाकर्मीको सङ्ख्या जिल्लाबाट थपियो ।

आन्दोलनकारीले चित्रे भञ्ज्याङ कब्जा गरेको.खबर पाएपछि गाउँपालिका प्रमुख निरौलाले आफू निकटस्थ केही व्यक्तिहरुसँग बसेर सरोकारवालाहरुको माग सम्बोधन गर्ने निर्णय गरे । उनले शनिबार सरोकारवालाहरुलाई सम्बोधन गरेर बिस्कामखोला मुहान खानेपानी रद्ध गर्ने, बिस्काम सडक उपभोक्ता समितिको वडा कार्यलयमा यस अघि भएको सहमती बमोजि पुनः उपभोक्ता समिति गठन गर्ने निणय भएको पत्र प्रहरी मार्फत चित्रे भञ्ज्याङ पठाए ।

पत्र प्राप्ति पछि सरोकारवालाहरु वार्तामा जाने र निर्णय कार्यान्यनका प्रकृयाहरुको थालनी गर्ने तयारी गरिरहेका बेला वडा कार्यालयमा भेला भएका सरोकारवाला बाहेकका समूहले बिना सहमति ताला तोडे । यसले वार्ताको वातावरण भांँडियो । वार्ताका लागि गाउँपालिका आउन लागेको सरोकारवाला समूह पुरै तयारीका साथ मुठभेड हुन सक्ने आंकलन सहित वडा कार्यालय बाकाचोल पुग्यो ।

घटनाको बारेमा सुरक्षाकर्मीहरु जानकारी रहेकैले सुरक्षा टोली र पत्रकारको टोलीसमेत बाकाचोलको वडा कार्यालय पुग्दा वडाअध्यक्ष शान्तवीर तामाङका पक्षमा लागेकाहरुले ताला खोलिसकेको र कार्यालय अगाडि भाषण गरिरहेका थिए । सरोकारवाला समूह पगेपछि स्थिति तनावग्रस्त देखियो ।

सरोकारवाला समूहमा नेतृत्व गरिरहेका नन्द तामाङ, प्रेम तामाङ, नीर तामाङ भलाकाजी राईहरु निकै आक्रोशित देखिन्थे । यो समूहको समग्र नेतृत्व २ नम्बर वडा कै वडा सदस्य जयकुमार तामाङले गरिरहेका थिए । दोहोरो सवाल जवाफ हुन नदिन सुरक्षाकर्मीहरु सक्रिय थिए । यसको प्रत्यक्ष समाचार सङ्कलनका लागि पत्रकार भीम राई, चिसाङ शेर्पा र खेम पुरी घटनास्थल रहेका थिए ।

वडाध्यक्ष लगायतको समूह कालीका मावि बाकाचोलको आगन रहेको थियो भने सरोकारवाला समूह वडा कार्यालयको अगाडि सडकहरुमा उभिएर बसेका थिए । एक्कासी आक्रोशित भएका सरोकारवाला समूहबाट केही शब्दहरु कडा स्वरमा सुनियो । यी शब्दहरु सुन्नासाथ वडाध्यक्ष शान्तवीर तामाङ तलबाट ज्याकेट खोलेर उनीहरुलाई थर्काउँदै भिडतिर आउन लागेका के थिए ।

माथिबाट वडा सदस्य जयकुमार तामाङको समूहले ढुङ्गा वर्षाउन शुरु गरे । स्थिति पुरै तनावग्रस्त रह्यो । सुरक्षाकर्मी र पत्रकारहरु बाल बाल बचे । जनपद प्रहरीका इनिस्पेक्टर राजेन्द्रकुमार पौडेलको हातमा सामन्य चोट लाग्यो । आफूलाई पत्रकार नै भनेर चिनाइरहने खेम पुरी भने आक्रोशित भए । उग्र आन्दोलनकारी जस्तै पुरीले प्रस्तुत गर्दा त्यहाँका दुवैपक्षले राम्रो मानेनन् ।,

सुरक्षाकर्मीहरुले संयमता अपनाए । पत्रकार चिसाङ शेर्पा, भीम राईहरु सहजकिरणका लागि सक्रिय भइरहे । सशस्त्र र जनपद प्रहरी अधिकृत तथा जवानहरुसमेत स्थिति सामन्य बनाउन निरन्तर व्यक्ति व्यक्तिसँग छलफलमा जुटे । निकै बेरपछि स्थिति केही सामन्य भएपछि दुवैपक्षबाट वार्ता समिति बनाउने भन्नेमा सहमति जुट्यो । वार्ता समिति निर्माण गरि खुलाएको ताला फेरि लगाउने र दुवैपक्षको सहमति पछिमात्र ताला खोल्ने, त्यसबेला सम्म वडा कार्यालयमा लगाइएको ताला सञ्चारकर्मी भीम राईलाई बोक्न दिने कुरामा १४ गतेको स्थितिलाई सामन्य बनाउन सकियो ।

तपाईको प्रतिक्रिया