अहिलेको युग विकास र समृद्धिको युग हो : मुख्यमन्त्री शेरधन राई

Halesi Khabar
0 Shares

खोटाङ, २१ चैत । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्याँस प्लान्ट र कृषि स्रोत केन्द्र शनिबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो ।

प्रदेश नं. १ को सबै जिल्लामा सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटन लगायतको विकासले जनतामा समृद्धि मिलेको बताउनुभयो । “प्रदेश सरकार बनेपछि सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटन लगायतको विकासले जनतामा सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “अहिलेको युग विकास र समृद्धिको युग भएकाले जनताको अपेक्षा अनुसार प्रदेश सरकारलेसमेत क्रियाकलाप अगाडि बढाएपछि जनता पनि खुसी भएका छन् ।”

प्रदेश सरकारले अगाडि बढाएको कृषिमा अनुदान, युवालाई रोजगार लगायतका कामले समेत जनता खुसी भएको मुख्यमन्त्री राईले दाबी गर्नुभएको छ । पहाडी जिल्ला धनकुटा, भोजपुर, खोटाङको विकासे योजनाहरुको अनुगमनमा आएका राईले मध्यपहाडी लोकमार्ग अन्तरगतको चखेवा–दिक्तेल सडक, समगरमाथा लोकमार्ग अन्तरगत माहुरे–फोक्सिङटार सडक निर्माणमा ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको यलम्बर पार्क, ट्याम्के भ्युटावर, मुन्धुम ट्रेलको काम धमाधम भइरहेकाले त्यसको विकासले पर्यटन प्रबद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश सरकारको तर्फबाट संसारको होचो स्थान झापादेखि संसारकै सर्वोउच्च शिखर सगरमाथासम्म केबलकार योजना, सुनकोशीको दोलालघाटमा जेटबोट लगायतको योजना अघि बढाइएको मन्त्री राईले बताउनुभएको छ ।

मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन गर्न बाँकी रहेकाले नामाङ्कनको काम पनि चाँडै नै गरिने बताउनुभयो । कोभिड–१९ का कारणले विलम्ब भएको उल्लेख गर्नुहुँदै मख्यमन्त्री राईले प्रदेश नं १ लाई छिट्टै नाम दिने बताउनुभएको छ ।

यद्यपि, राजनीतिक खिचातानी भयो भने प्रदेश नं. १ को नामाकरणमा समस्या आउने मुख्यमन्त्री राईको भनाइ छ । “प्रदेशको नामाङ्कन विश्वभर फैलिएको कोभिड–१९ ले गर्दा ढिलो भयो, अब छिट्टै नै टुङ्ग्याउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “नामाकरणमा राजनीतिक खिचातानी भयो भने समस्या हुन्छ ।”

मुलुकमा सिर्जना भएको राजनीतिक खिचातानीकै कारण विकासमा सरकारलाई असहज सिर्जना भएको मुख्यमन्त्री राईले दाबी गर्नुभयो । “केही नेताहरुले अस्थिरता निम्त्याउने खेल खेलेकाले विकासमा समस्या भयो”, उहाँले भन्नुभयो, “ठूला ठूला षड्यन्त्रले गर्दा मुलुकमा अस्थिरता सिर्जना भयो, त्यसले विकासमा पनि असर ग¥यो ।”

अर्थमन्त्रालयको विशेष अनुदान बापतको रु तीन करोड ३२ लाखको लागतमा सोल्मास्थित अजम्बरी टोलमा कम्पोष्ट मल उद्योग, बायोग्याँस प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराउनुभएको दुई रोपनी जग्गामा कम्पोष्ट मल उद्योग, बायोग्याँस प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना गरिएको हो ।

उद्योगबाट उत्पादित कम्पोष्ट मल मलिलो र राम्रो हुने नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताउनुभयो । प्राविधिकका अनुसार टर्नरमा काटेर थुममा हालेर क्रसर चलाएपछि धुलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेसिनमा पुग्दा तयारी भएर बोरामा प्याक भएर मलकारुपमा बाहिर निस्कन्छ ।

कम्पोष्ट मल उद्योगसँगै बनाइएको बायोग्याँस प्लान्टमा मानव मलमुत्र तथा गाईभैँसीको गोबर हालेर ग्यास उत्पादन गर्ने तयारी गरिएको छ । तीन हजार ५०० घनमिटर क्षमताको अण्डरग्राउण्ड डुम (ट्याङ्की)मा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्न मिल्ने जनाइएको छ ।

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ । आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल उद्योग र बायोग्याँस प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसी पालन गरिएको छ ।

तपाईको प्रतिक्रिया