खोटाङ, २६ चैत । नेपाल पत्रकार महासङ्घ खोटाङको छैटौँ जिल्ला अधिवेशनमा प्रेस चौतारी नेपालले ठूलो सफलता हात पारेको छ । बुधबार भएको मतदानमा नेपाल प्रेस युनियन र प्रेस सङ्गठन नेपालबीच भएको गठबन्धनलाई हराउँदै चौतारी विजयी भएको हो ।
छब्बीस जना साधारण सदस्य रहेको जिल्लामा उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव र चार सदस्यमा मतदान भएको थियो । मतदानमार्फत जिल्ला उपाध्यक्षमा चौतारीका टिवन राई, महिला उपाध्यक्षमा गठबन्धन अन्तरगत युनियनका कृष्णकला राई र सचिवमा चौतारीको लोकमणि रिजाल विजयी बन्नुभएको छ ।
सामुहिक तस्वीर खिचाउँदै छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी ।
चार जना सदस्यमा चौतारीको दिवस रिजाल र खेमराज अधिकारी, युनियनका दिनराज कार्की र प्रेस सङ्गठनका सुर्य तामाङ विजयी हुनुभएको छ । यससँगै चौतारीले आफ्ना सबै उम्मेदवारलाई विजयी गराएको छ ।
अध्यक्ष लगायत केही पदमा भने निर्विरोध नेतृत्व चयन भएको थियो । अध्यक्षमा गठबन्धनका उम्मेदवार युनियनका दिलीप खत्री, सहसचिवमा युनियनकै चिसाङ शेर्पा, सहसचिवमै चौतारीको उमेश भुजेल, कोषाध्यक्षमा चौतारीको भूमिका न्यौपानै र जनजाति सदस्यमा सङ्गठनका उजुर राई निर्विरोध चयन हुनुभएको हो ।
केन्द्रीय गठबन्धन अनुसार खोटाङमा युनियनको भागमा अध्यक्ष परेको थियो । मनोनयनको करीब आधा घण्टाअघि युनियनले प्रेस सङ्गठनलाई छाडेर चौतारीसँग समझदारी गरेपछि सम्झौता भङ्ग भएको हो ।
पत्रकार महासङ्घमा प्रेस चौतारी नेपालबाट विजयी पदाधिकारी ।
सङ्गठनका भीम राईले अध्यक्षमा बागी उम्मेदवार दर्ता गराएपछि पहिलो सम्झौता भङ्ग गर्नुपरेको युनियनको भनाइ छ । केन्द्रले तोकेको नेतृत्वलाई स्वीकार गर्दै सङ्गठनले युनियनमा आवद्ध खत्रीको नेतृत्वमा साझा उम्मेदवारी दर्ता गर्ने सम्झौता थियो ।
मनोनयनको समयमा टुटेको सम्झौता मतदानको पूर्वसन्ध्यामा पुनः जोडिएको थियो । सङ्गठनका संयोजक सुर्य तामाङ र युनियनका अध्यक्ष उत्तम चौंलागाईंको हस्ताक्षरमा २४ गते साँझ प्रतिबद्धतापत्र सार्वजानिक भएको थियो ।
संयोजक तामाङ र अध्यक्ष चौलागाईँबीच लिखित प्रतिवद्धता भएपनि युनियनले चौतारीका उम्मेदवारलाई नै मतदान गरेका थिए । सङ्गठनतर्फका सदस्यले भने युनियन र सङ्गठनका साझा उम्मेदवारलाई नै मतदान गरेका थिए ।
नेपाल प्रेस युनियन र प्रेस सङ्गठन नेपालले जारी गरेको संयुक्त विज्ञप्ती ।
यद्यपी, जिल्लामा प्रेस युनियन र प्रेस चौतारीबीच लिखित सम्झौता गरेर मनोनयन दर्ता गरिएको चौतारीका केन्द्रीय सदस्य हरिवोल आचार्यले बताउनुभएको छ । दुई पक्षीय सम्झौता अनुसार युनियनले धोका नदिएकाले आफूहरुको सबै उम्मेदवार विजयी भएको आचार्यले जानकारी दिनुभयो ।
केन्द्र तथा प्रदेश निर्वाचनमा भने युनियन र प्रेस सङ्गठनबीच भएको सम्झौता अनुरुप नै गठबन्धनले मत प्राप्त गरेको छ । केन्द्रमा विपुल पोखरेल नेतृत्वले १७ र निर्मला शर्मा नेतृत्वले नौँ मत पाएका छन् ।