काठमाडौँ, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अग्रसरता लिन काँग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का नेताले आग्रह गरेका छन् । देउवा अघि नसरे आफूलाई सघाउन जसपा नेताको प्रस्ताव छ ।
नेपाली काँग्रेसनिकट स्रोतले भन्यो, ‘जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देउवालाई सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन यादव र भट्टराईले प्रस्ताव गरेका छन् ।’
जसपाको उपेन्द्र–बाबुराम पक्षले राखेको यो प्रस्तावबारे देउवाका तर्फबाट कुनै जवाफ आइनसकेको स्रोतले बताएको छ । चैत २७ गते काँग्रेस र माओवादीसँग भएको छलफलमा जसपाका नेताहरुले आफ्नो पार्टीमा छलफल गरेर मात्रै सत्ता समीकरणबारे निर्णय दिने बताएका थिए ।
देउवानिवासमा बसेको तीन दलीय बैठकमा काँग्रेस सभापति देउवाले आफूलाई प्रधानमन्त्रीमा समर्थन जनाउन जसपासँग प्रस्ताव राख्नुभएको थियो । देउवाको सोही प्रस्तावमाथि छलफल गर्न आज बालकुमारीस्थित पार्टी कार्यालयमा जसपाको पदाधिकारी बैठक बस्दैछ ।
बैठकमा सत्ता समीकरणबारे छलफल हुने नेताहरुले बताएका छन् । आजको बैठकमा काँग्रेस र माओवादीसँग मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल हुने जसपाका एक नेताले बताए ।
काँग्रेस तयार नभएर जसपाकै तर्फबाट अविश्वास प्रस्ताव अघि बढाउनुपर्नेमा उपेन्द्र–बाबुराम पक्षको मत रहेको ती नेताले बताए । आजको पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक बोलाउने बारेमा पनि छलफल हुने बताइएको छ ।
आज बस्ने पदाधिकारीको बैठकले कार्यकारिणी समितिको बैठक तय गर्ने सो पार्टीले जनाएको छ । यसअघि चैत ५ गते बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।
स्थगित बैठक होलीपछि बस्ने भनिएको थियो । होलीपछि नेताहरु उपत्यका बाहिर भएका कारण बैठक तय भइरहेको थिएन ।