खोटाङ, २९ चैत । दिक्तेलमा सम्पन्न तीन दिने निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा करीब एक हजार जना आँखाका बिरामी सेवा लिएका छन् । दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङमा आयोजना गरिएको तीन दिने आँखा उपचार शिविरमा १४२ जानको शल्यक्रिया, १३५ जनालाई चस्मा वितरण तथा ८०४ जना आँखाका बिरामीले साधारण उपचार र निःशुल्क औषधि पाएका छन् ।
यहि चैत २६ गतेदेखि सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा जिल्लाका २०० जना जेष्ठ नागरिकलाई निःशुल्क चस्मासमेत वितरण गरिएको जनाइएको छ । नेपाल नेत्र ज्याति सङ्घ जिल्ला शाखा खोटाङको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
उपचारमा आएका बिरामीलाई खाना तथा बासको समेत व्यवस्था गरिएको शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा. महेश्वर चौधरीको नेतृत्वमा १३ जना स्वास्थ्यकर्मीको टोली आउनुभएको थियो । शिविरमा आएका अधिकांश आँखाका बिरामीमा मोतिया बिन्दुको समस्या देखिएको आयोजक नेत्र ज्याति सङ्घ खोटाङका सभापति इन्द्र कसजुले जानकारी दिनुभयो ।
आफ्नै जिल्लामा निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन भएपछि आँखाका बिरामीहरु लाभान्वित भएका छन् । बिगत चार वर्षदेखि मोतिया बिन्दुका कारण बन्द रहेको आँखाले शल्यक्रियापछि देख्न थालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१० पाथेकाकी ९० वर्षीया रामशोभा राईले बताउनुभयो ।
दिक्तेलमा आयोजना गरिएको शिविरमा जिल्लाका दशवटै स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुरका बिरामीसमेत सहभागी भएका आयोजकले जनाएको छ । तीन दिने शिविरमा जिल्लास्थित नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङसहित विभिन्न सङ्घ संस्थाका पदाधिकारीले स्वयम् सेवकको रुपमा सहयोग गरेका थिए ।
यसअघि रावाबेँसी गाउँपालिकामा आयोजना गरिएको शिविरमा ७२५ जनाको उपचार गरिएको थियो । गाउँपालिकाको आर्थिक सहयोगमा यहि चैत २१, २२ र २३ गते सञ्चालन गरिएको शिविरमा ४२ जनाको शल्यक्रिया गरिएको जनाइएको छ ।
नेत्र ज्योति सङ्घले जिल्लाका अन्य स्थानीय तहमा समेत यसै वर्ष निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गरेको थियो । वि.सं. २०६० सालमा स्थापना भएको नेत्र ज्योति सङ्घले हरेक वर्ष जिल्लामा निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गर्दै आएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आँखा बिरामीको सङ्ख्या ४४ हजार बढी रहेको जनाइएको छ । नेत्र ज्योति सङ्घ अन्तरगत आँखा अस्पतालले आर्थिक वर्ष २०७६÷०७७ गरेको ¥याप सर्वेक्षणमा उक्त तथ्याङ्क देखिएको हो ।
तथ्याङ्क अनुसार जन्मजात दृष्टिदोष, बालअन्धोपन, मोतियाबिन्दु, जलबिन्दु, खस्रेरोग, भिटामिन एको कमी, रतन्धो लगायतका समस्या देखिएका छन् । २०६८ सालको जनगणना अनुसार खोटाङको कुल जनसङ्ख्या दुई लाख छ हजार ३१२ रहेको छ ।