काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरुलाई सफल हुन नदिने दाबी गर्नुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरु सलबलाई रहेको बताउनुभयो ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ इंगित गर्दै उहाँले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरुलाई युद्धमा लगाउनेहरू नै अहिले लोकतन्त्र र अग्रगामी कदम विरुद्ध लागेको दाबी गर्नुभयो । झण्डै दुई तिहाईको पार्टी फुटाएर वर्तमान सरकार ढाल्न अरूसँग बिन्ती गर्दै हिँडेको भन्दै उहाँले दाहालप्रति व्यङ्ग्य गर्नुभयो ।
“एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाइ मन्त्री, प्रधानमन्त्री भइदेउन होऔ । शेरबहादुरजीलाई भेट्यो । दाइ प्रधानमन्त्री भइदिनुपर्यो । महन्थजीलाई भेट्यो ए दाइ प्रधानमन्त्री भइदिनुपर्यो । किनभन्दा कम्युनिष्ट सरकार ढाल्नुपर्यो क्या त्यसकारण शेरबहादुर भइदिनुपर्यो”, उहाँले भन्नुभयो, “यो देशलाई अगाडि बढाउन शेरबहादुरजी प्रधानमन्त्री बन्दिनुपर्यो । कम्युनिष्ट आन्दोलनलाई बचाउनका लागि । कम्युनिष्ट आन्दोलनको एकता बचाउन । यस्ता नक्कली कुरा गर्ने तत्वहरु अहिले पनि छन् ।”
आफूहरुले जिताइदिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै उनले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “सदस्यताबाट निस्कासन गरे धित पुर्याए हुन्छ । हामीले टाँसिदिएको जुँगा । अलिक दिनपछि त्यो जुँगा हामी निकाल्दिन्छौ त्यसपछि सक्कियो ।”
उहाँले नेकपा एमाले, कम्युनिष्ट, वामपन्थी र देश बनाउनेसँग नमिलेर दुई तिहाइको सरकार ढलाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न उद्त रहेको दाबी गर्नुभयोे । माओवादी अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै लोकतन्त्र विरुद्ध क्रान्तिका सपना देखाएर युद्धमा लागेको र कयौंलाई पीडा दिएकाहरु नै ‘मैले आफ्नालाई छोडेर अरुसँग मिलेछु’ भनेर भन्ने गरेको आरोप लगाउनुभयो ।
’