वैशाख १० गतेदेखि खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिता

Halesi Khabar
0 Shares

खोटाङ, ३१ चैत । आगामी वैशाख १० गतेदेखि खोटाङमा सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक जिल्ला फुटबल सङ्घको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत हुने (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

(ए) डिभिजन लिग फुटबल प्रतियोगिता वैशाख ११ गतेदेखि १५ गतेसम्म र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता वैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो । यसपल्टको (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा राजावासस्थित यलम्बर खेलमैदानमा सञ्चालन हुने जनाइएको छ ।

जिल्ला लिग वैशाख १० गते उद्घाटन भए पनि प्रतियोगिता भने दोस्रो दिनदेखि मात्र सञ्चालन हुने आयोजकले जनाएको छ । (ए) डिभिजन अन्तरगत वैशाख ११ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र बाक्सिला फुटबल क्लवीबच, दिउँसो १ बजे सोल्मा स्पोर्टस् क्लव र खारम्बु स्पोर्टस् क्लवबीच तथा दिउँसो ३ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबीच प्रतिस्पर्धा हुने छ ।

वैशाख १२ गते बिहान ११ बजे बाक्सिला फुटबल क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबीचमा, दिउँसो १ बजे खारम्बु स्पोर्टस् क्लव र खोटाङ भगवती स्पोर्टस् क्लवबीच तथा दिउँसो ३ बजे खोटाङ फुटबल एकेडेमी र सोल्मा स्पोर्टस् क्लवबीचमा दोस्रो चरणको खेल हुने सङ्घका सदस्य सनम राई ‘जोजो’ले जानकारी दिनुभयो । वैशाख १३ गते बिहान ११ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र सोल्मा स्पोर्टस् क्लवबीच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र हलेसी तुवाचुङ फुटबल क्लवबीचमा तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खारम्बु स्पोर्टंस् क्लवबीचमा प्रतिस्पर्धा जनाइएको छ ।

यस्तै, वैशाख १४ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र खोटाङ भगवती स्पोर्टस् क्लवबीच, दिउँसो १ बजे बाक्सिला फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लव तथा दिउँसो ३ बजे हलेसी तुवाचुङ फुटबल क्लव र खारम्बु स्पोर्टस् क्लवबीच खेल हुने छ । वैशाख १५ गते बिहान ११ बजे सोल्मा स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबीच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र खारम्बु स्पोर्टस् क्लवबीच तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खोटाङ भगवती फुटबल क्लवबीच खेल हुने सङ्घले जनाएको छ ।

(बि) डिभिजन अन्तरगत वैशाख १६ गते दिउँसो १ बजे जन्तेढुङ्गा फुटबल क्लव र बुइपा एलाभेल स्पोर्टस् क्लवबीच तथा दिउँसो ३ बजे नुनथला फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबीचमा प्रतिष्पर्धा हुने छ । यस्तै, वैशाख १७ गते बुइपा एलाभेन स्पोर्टस् क्लव र नमूना स्पोर्टस् क्लवबीच तथा जन्तेढुङ्गा फुटबल क्लव र नुनथला फुटबल क्लवबीच खेल हुने आयोजकले जनाएको छ ।

वैशाख १८ गते जन्तेढुङ्गा फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबीच तथा बुइपा एलाभेन स्पोर्टस् क्लव र नमूना फुटबल क्लवबीचमा खेल हुने फुटबल सङ्घले जनाएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको हो ।

वि.सं. २०७६ सालको लिगमा प्राप्त गरेको अङ्कको आधारमा जिल्लाका छ वटा क्लव (ए) डिभिजनमा र चार वटा क्लव (बि) डिभिजनमा परेको थियो । (ए) डिभिजन लिगका विजेता क्लवले प्रदेशस्तरीय लिगमा प्रतिष्पर्धा गर्न पाउने छन् ।

एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घले जिल्लाकै इतिहासमा पहिलोपल्ट २०७६ सालमा जिल्ला लिग फुटबल प्रतियोगीता गरेको थियो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो ।

तपाईको प्रतिक्रिया