मुख्यमन्त्रीको स्पष्टीकरण : छलफल गर्न समय मिलोस् भनेर अधिवेशन अन्त्य गरें

Halesi Khabar
0 Shares

पोखरा, २ वैशाख । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको निर्णय सार्वजनिक भएलगतै तीन दलले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि बुधबार राति नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्नुभयो ।

प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजे संसद अधिवेशन अन्त्य गर्नुभयो । ६ गते बोलाइएको बैठक बस्न नदिइ अधिवेशन अन्त्य गरेपछि नयाँ सरकार गठनको तयारीमा रहेका नेताहरुले यसलाई राजनीतिक बेइमानीको संज्ञा दिएका छन् ।

अविश्वासको प्रस्ताव ल्याए सामना गर्छु भन्ने मुख्यमन्त्री डराएर भागेको र प्रधानमन्त्री केपी शर्मा ओलीकै शैली अपनाएको आरोप लगाएका छन् । मुख्यमन्त्री गुरुङले भने सबै दल तथा पक्षसँग छलफल गर्न समय होस् भनेर अधिवेशन अन्त्य गरेको तर्क गर्नुभएको छ ।

“म किन भाग्ने, मजस्तो लोकतन्त्रमा विश्वास गर्ने मान्छे अविश्वासको प्रस्तावबाट भाग्छु ? भागेर कहाँ जाने होर म ?”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “विशेष अधिवेशनको माग गरेर. बैठक बस्नुपर्छ र संसदमा म थापिनुपर्छ भन्ने थाहा छैन र ?”

त्यसो भए किन हठात् अधिवेशन अन्त्य गर्नुभएको भन्ने प्रश्नमा उहाँले छलफल गर्ने समय चाहिएको दोहो¥याउनुभयो । राजनीतिमा असम्भव भन्ने केही नभएको भन्नुहुँदै एमाले नेतासमेत रहनुभएका मुख्यमन्त्री गुरुङले भन्नुभयो, “मैले माथि पनि भनेको छु, कमसेकम प्रचण्डसँग कुरा चलाऔं । बाबुराम भट्टराईसँग कुराकानी गरौं । या चाहिं शेरबहादुर देउवासँग कुराकानी गर्दा के हुन्छ ? मोहनविक्रम छन्, चित्रबहादुर केसी छन् । सबैसँग छलफल गर्दा म सम्भावना पनि देख्छु ।”

यो अवधिमा अविश्वासको प्रस्ताव ल्याउन किन हतार भएको रहेछ भन्ने जान्ने समय पनि हुने उहाँको तर्क छ । “पृथ्वीसुब्बा गुरुङले ठूलै भ्रष्टाचार गरेर उहाँहरुलाई हतार भयो कि ? संघीयताविरोधी काम गरेर हतार भयो कि ? वाम गठबन्धनको सहमति विपरीत काम गरेर हतार भएको हो कि ? ‘प्रतिपक्षलाई अपमान गरें कि ?”, मुख्यमन्त्री गुरुङले भन्नुभयोे, “त्यस्तो त केही भएको त छैन ।”

काठमाडौंमा रिस उठेको बिरालोले पोखरा आएर खाँबो चिथोर्छ भनेझैं केन्द्रको रिस प्रदेशमा पोखिएको उहाँको दाबी छ । केन्द्रको रिसले भइरहेको प्रदेश सरकारलाई हटाउनु संघीयता र स्थिरता दुवैको मर्मविपरीत निर्णय भएको उहाँको भनाइ थियो ।

नयाँ सरकार गठन गर्न खोज्नु प्रतिपक्षी दलको धर्म भएपनि कम्युनिस्ट पार्टीलाई सरकारको किन विकल्प खोज्नुप¥यो ? भन्ने प्रश्न मुख्यमन्त्रीको छ । केन्द्र सरकारलाई दिएको समर्थन अझै फिर्ता नलिएको माओवादी र जनमोर्चाले प्रदेशमा अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोज्नु प्रतिगामी कदम भएको उहाँले दाबी गर्नुभयो ।

मन्त्री नै बन्ने भए आफूले पहिले पनि दिएको र अब पनि दिने बताउँदै अझै छलफल र सहकार्यको ढोका खुला गर्न पनि अधिवेशन अन्त्य गरेको मुख्यमन्त्रीले बताउनुभयो । मुख्यमन्त्रीले संसद अधिवेशन अन्त्य गरेपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले बिहीबार मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् ।

तपाईको प्रतिक्रिया