सुर्खेत, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन् । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी गरेको छ ।
संसदीय दलको बैठक अहिले सुर्खेतमा जारी छ । बैठकले मुख्यमन्त्रीविरुद्ध व्हीप जारी गर्ने निर्णय गरेको एक नेताले बताए । उनले भने, ‘हामी बैठक बस्दैछौं, मुख्यमन्त्रीविरुद्ध मतदान गर्न व्हीप जारी भयो भन्ने बुझ्नुस ।’
गत चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी बाध्यताका कारण आज विश्वासको मत लिन लागेका हुन् । आज सुरु हुने प्रदेशसभाको सातौँ अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।
आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठकमा सरकारले दुईवटा अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ । माओवादीको बिहीबार बसेको संसदीय दलको बैठकले प्रदेशसभामा विश्वासको मत लिने र यसका लागि सबै दलहरुलाई विश्वासको मत दिन अपिल गर्ने निर्णय गरेको थियो ।
३९ जना सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २० जनाको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा माओवादीका १२ जना सांसद छन्। कांग्रेसका ६ जना र राप्रपाका एकजना सांसद रहेका छन । त्यस्तै एमालेका सभामुखसहित २० जना सांसद रहेका छन् ।
मुख्यमन्त्रीलाई अहिले १९ जना सांसदको समर्थन रहने देखिन्छ। तर माओवादीले एमालेका असन्तुष्ट समूहका सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिने अपेक्षा गरेको छ । एमालेले भने मुख्यमन्त्रीले आज विश्वासको मत पाउन नसक्ने र आफ्नो नेतृत्वमा भोलि वा पर्सिमा नयाँ सरकार बन्ने अपेक्षा लिएको छ ।