प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी सहभागी हुने

Halesi Khabar
0 Shares

खोटाङ, ३ वैशाख । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत खोटाङमा शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहहरुबाट छनोट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि ८४ जना खेलाडी पठाउने उद्देश्यले प्रतियोगिता शुरु गरिएको हो ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा तीन दिनसम्म सञ्चालन हुने जिल्लास्तरीय प्रतियोगितामा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित माध्यमिक तहमा अध्ययनरत खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावोबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका खेलाडी मात्र सहभागी भएका हुन् ।

दश स्थानीय तह रहेको जिल्लाका केपिलासगढी, साकेला, जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका उक्त प्रतियोगितामा सहभागी भएका छैनन् । साकेला गाउँपालिकामा भएको गाउँपालिकास्थरीय छनोट प्रतियोगितामा सहभागीबीच झडप भएपछि गाउँपालिकास्थरीय प्रतियोगिता नै स्थकित गरिएको छ ।

जिल्लाका अन्य स्थानीय तहले भने पर्याप्त बजेट नभएका कारण देखाउँदै जिल्लास्तरीय प्रतियोगितामा सहभागिता नजनाएको आयोजक समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले जानकारी दिनुभयो । “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नका लागि भनेर एउटा स्थानीय तहमा रु एक लाखमात्र बजेट आउने गरेको छ”, उहाँले भन्नुभयो, “पालिका, जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी गराउन कम्तिमा पनि रु पाँच लाख बजेट आवश्यक पर्ने देखिन्छ । आगामी दिनमा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर सबै स्थानीय तहलाई सहभागी गराउने योजना बनाएका छौँ ।”

जिल्लास्तरीय प्रतियोगितामा छात्रछात्रा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, कबड्डी र एथलेटिक्सगरी पाँच विद्यामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाभक्त केसीले बताउनुभयो । जिल्लास्तरीय प्रतियोगिता अन्तरगत सबै विद्याका उत्कृष्ट ८४ जना खेलाडी छनोट गरेर प्रदेश नं. १ को राजधानी विराटनगरमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने जनाइएको छ ।

१२ औँ सँस्करणको जिल्लास्तरीय प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । जिल्लास्तरीय प्रतियोगिता उद्घाटन कार्यक्रममा दिक्तेलस्थित शुभम् फाउण्डेशनका विद्यार्थीले तेक्वान्दो खेलासम्बन्धी कला प्रस्तुत गरेका थिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गर्नुभएको प्रतियोगितामा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख, खेलसम्बन्धी विभिन्न सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमका वक्ताहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

तपाईको प्रतिक्रिया