उमेश भुजेल खोटाङ,४ बैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिका –६ मंगलटारमा एक घर एक जस्तापाता छाना अभियान शुरु गरिएको छ । वडाभित्रका गरिब तथा विपन्न परिवारमा खरले छाएका घरको छानो हटाएर जस्तापाता छाइने अभियान शुरु गरिएको हो । खरले छाएको घरमा बस्ने परिवारलाई सुरक्षित छानोमुनि ल्याउन वडा कार्यालयको आफ्नै लागानीमा खरको छानो विस्थापित अभियान कार्यक्रम ल्याइएको वडा अध्यक्ष रमेशकुमार राउतले बताउनुभयो ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि वडा कार्यालयले, वडाका अति विपन्न, एकल महिला, भुकम्प पिडीत, दलित तथा पिछडिएका १४ घर परिवारलाई ८ लाख बराबरको जस्तापाता वितरण गरिने वडा अध्यक्ष राउतले हलेसी खबरलाई जानकारी दिनुभयो । वडा कार्यालयले यस आर्थिक वर्ष ०७७/०७८ मा २५ घर परिवारलाई जस्तापाता वितरण गर्ने लक्ष्य लिएको वडा कार्यालयले जनाएको छ । उक्त वडामा २ हजार ८ सय जनसंख्या रहेको हलेसी तुवाचुङ नगरपालिका – ६ मंगलटारमा ४ सय ४० घर मध्ये १ सय ५५ भन्दा माथी घर परिवारहरु खरको छानामुनी रहेका छन् । आगामी आर्थिक वर्षमा अन्य घरपरिवारलाई पनि जस्तापाता वितरण गरिने वडा अध्यक्ष राउतले बताउनुभयो । वडा अध्यक्ष राउतले भन्नुभयो,“यो अभियानप्रति खरको छानो भएका हाम्रा स्थानीयबासी खुसी भएका छन् ।” यता हलेसी तुवाचुङ नगरपालिकाले वडा कार्यालयको यस उदाहरणीय कामको प्रसंशा समेत गरेको छ । वडामा अधिकांश गरिब, विपन्न तथा दलित समुदायका घर खरले छाएका छन् । आगामी चार वर्षभित्र खरले छाएका सबै घरमा जस्तापाताको छानो देखिने अध्यक्ष राउतको बताउनुभयो । खरको छानो भएका घरमा आगलागीको जोखिम बढ्ने,पानी चुहिने र बर्सेनि छानो परिवर्तन गर्नुपर्ने समस्या समाधानका लागि जस्तापता वितरण अभियान थालिएको वडा अध्यक्ष राउतले बताउनुभयो ।