काठमाडौँ, ५ वैशाख । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो ।
बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन लेखेरै फिर्ता दिने उनले बताएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकअघि नै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको बताइएको छ ।
‘हाम्रो यो सरकारलाई कहिल्यै समर्थन नै छैन । यो सरकारलाई हाम्रो समर्थन नरहेको लेखेर दिन्छौं’ उहाँले भन्नुभयो ‘भोलि स्थायी समिति बैठक बस्दैछ, यो पनि एजेन्डा हो । अब भोलिको बैठकमा लिखित निर्णय हुन्छ ।’
त्यस्तै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने निश्चित भएको स्थायी समिति सदस्य मात्रिका यादवको भनाइ छ । कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्र संघीय सरकारमा पनि ओली सरकार फेर्ने तयारीमा रहेको बताइएको छ ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको समेत बताउनुभएको थियो ।