काठमाडौँ, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । भेटमा सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई, मुद्दा खारेजी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
विप्लवले वार्तामा भएका सहमति कार्यान्वयनका बारेमा चासो राख्नुभएको जनाइएको छ । प्रधानमन्त्री ओलीले सरकारले यथाशक्य छिटो बन्दी रिहाई र मुद्दा खारेजी हुने जानकारी दिनुभएको सल्लाहकार थापाले जानकारी दिनुभयो ।
देशको पछिल्लो राजनीतिक घटनाक्रम डरलाग्दो ढंगले अघि बढेको र यसलाई सही मार्गमा ल्याउन अग्रगामी र दीर्घकालीन समाधान खोज्ने विषयमा समेत सहमति भएको छ । सकारसँग भएको सहमतीका विषयमा हिजो मात्रै प्रधानमन्त्री ओली र वार्ता टोलीका प्रमुख तथा प्रवक्ता प्रकाण्डबीच छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीसँगको भेटमा आज मात्रै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई पनि सहभागी हुनुभएको थियो । नेकपाका तर्फबाट महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी हुनुभएको थियो ।