खोटाङ, ११ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ । जिल्ला फुटबल सङ्घ खोटाङको आयोजनामा वैशाख १८ गतेसम्म सञ्चालन हुनेगरी शनिबारदेखि (ए) र (बि) डिभिजनको जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको हो ।
बुइपाको राजाबासस्थित यलम्बर खेलमैदानमा आयोजना गरिएको जिल्ला लिग फुटबल प्रतियोगिताको पहिलो दिन (ए) डिभिजनतर्फका तीनवटा खेल सम्पन्न भएका छन् । निर्धारित तालिका अनुसार भएको पहिलो खेलमा खोटाङ फुटबल एकेडेमीलाई ० का बिरुद्ध १ गोल गर्दै बाक्सिला फुटबल क्लव विजयी भएको छ ।
यस्तै, दोस्रो खेल सोल्मा स्पोर्टस् क्लब र खारम्बु स्पोर्टस् क्लबबीच तथा तेस्रो खेल खोटाङ भगवती स्पोर्टस् क्लब र हलेसी तुवाचुङ फुटबल क्लबबीच भएको आयोजकले जनाएको छ । दोस्रो खेलमा खारम्बुलाई शुन्यका विरुद्ध एक गोल गर्दै सोल्मा र तेस्रो खेलमा दुवै क्लबले एक÷एक गोल गर्दै बराबरी अङ्क बाँडेको जिल्ला फुटबल सङ्घ खोटाङका प्रवक्ता सनम राई ‘जोजो’ले जानकारी दिनुभएको छ ।
दोस्रो दिन भोलि बाक्सिला फुटबल क्लब र हलेसी तुवाचुङ फुटबल क्लबबीच तथा दोस्रो खारम्बु स्पोर्टस् क्लब र खोटाङ भगवती स्पोर्टस् क्लबबीच र तेस्रो सोल्मा स्पोर्टस् क्लब र खोटाङ फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुने जनाइएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यस्ता प्राप्त गरेसँगै दश स्थानीय तह रहेको खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको हो ।
वि.सं. २०७६ सालको जिल्ला लिग प्रतियोगितामा प्राप्त गरेको अङ्कको आधारमा जिल्लाका छ वटा क्लब (ए) डिभिजनमा र चार वटा क्लब (बि) डिभिजनमा परेको फुटबल सङ्घका जिल्ला अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो । (ए) डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय लिगमा प्रतिष्पर्धा गर्न पाउने जनाइएको छ ।
कोभिड–१९ को सङ्क्रमणलाई ध्यान दिएर सिमित अतिथिको उपस्थितिमा सञ्चालन गरिएको जिल्ला लिगको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा उपप्रमुख विणादेवी राई, बुइपाका वडाध्यक्ष दिनेश राई, अखिल नेपाल फुटबल संघका प्रदेश सदस्य समिर राई लगायतको उपस्थिति रहेको थियो ।